विराटनगर_ नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्र्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिए।
उनले नेपाली काँग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मुल्य मान्यताअनुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुपर्ने धारणा राखे।
भर्खरै सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गर्दै उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्थाअनुसार एक वर्षको म्याद थप हुने र आगामी २०७७ फागुन मसान्तभित्र सम्म महाधिवेशन सम्पन्न हुने बताए। रासस