काठमाडौं– ग्यास रिफिलिङ प्लान्टको सम्भाव्यता अध्ययन गर्न १३ कम्पनीले प्रस्ताव पेस गरेकाे बताइएकाे छ। नेपाल आयल निगमले अघि बढाएको झापा र जनकपुरको ग्यास रिफिलिङ प्लान्टको सम्भाव्यता अध्ययन गर्न भारत, चीनदेखि इरान र बेल्जियमसम्मका देशका कम्पनीबाट प्रस्ताव आएकाे नेपाल आयल निगमले बताएकाे छ।
निगमले आह्वान गरेको टेण्डरपछि झापाको चारआलीमा बन्ने ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनील कम्पनीले प्रस्ताव पेस गरेका छन्। जनकपुरको प्लान्टका लागि भारत र इरानी कम्पनीको मात्रै प्रस्ताव परेको निगमले जनाएको छ। केही साताभित्रै टुंग्याउने अन्तिम मूल्याकंनपछि चारआली र जनकपुरमा एक–एक कम्पनी छानिने निगमले जनाएको छ।
निगमका अनुसार छानिएका कम्पनीले पूर्वाधारको लागत, अग्निसुरक्षा प्रणाली, माटो परीक्षण, वातावरणीय मूल्यांकन, सबै प्रकारको इन्जिनियरिङ डिजाइनजस्ता विषयमा अध्ययन प्रतिवेदन तयार गरी कार्यादेश हुने र आयोजना अघि बढ्ने वा के गर्ने भन्ने टुंगो पनि प्रतिवेदनमै भर पर्नेछ।
निजी क्षेत्रको एकाधिकार ताेड्नकाे लागि निगमले उक्त कदमलाइ अघि बढाएकाे हाे। ग्यास भण्डारणका लागि निगमसँग कुनै पूर्वाधार नभएपछि ०७२ सालमा निगमको बोर्ड बैठकले झापा र जनकपुरमा तीन–तीन हजार टन क्षमताका प्लान्ट बनाउने योजना बनाएकाे हाे।