सिरहा- गाउँपालिकाको हरहिसाब पारदर्शी गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि आन्दोलनकारी र प्रहरीबीच आइतबार झडप भएको छ ।
झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भए। आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्दै कार्यालयमा तोडफोड गरेपछि भिडलाई नियन्त्रणमा लिन हस्तक्षेप गरेको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो।
गाउँपालिकाको बजेट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै हिसाब पारदर्शी गर्नुपर्ने माग राख्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्। जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा समाजवादीका कार्यकर्ताले आफ्ना कार्यकर्ताको टाउको फुटाएपछि तोडफोडमा उत्रिएको आन्दोलनकारीले बताए।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले आन्दोलनकारीले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउँदै कार्यालयमा रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको जनाएको छ।
६ वटा वडा रहेको लक्ष्मीपुर पतारी गाउँपालिकाकामा तीन वटा वडामा सङ्घीय समाजवादी फोरम, दुई वटा वडामा नेपाली कांग्रेस र एक वटा वडामा नेकपाले जितेको छ। अनियमितता भएको भन्दै नेपाली कांग्रेस र नेकपाले आन्दोलन गरिरहेका छन्।रासस