काठमाडौं– गौरिका सिंह सागकाे एकै संस्करणमा नेपालको सर्वाधिक सफल खेलाडी बनेकी छिन्। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तीन स्वर्ण जितेसँगै उनले एक कीर्तिमान बनाएकी छिन्। गौरिका सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने खेलाडी बनेकी हुन्।
आइतबार सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन्। यो जारी १३ औं सागमा उनको व्यक्तिगत तेस्रो स्वर्ण हो। उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि पारेकी थिइन्।
सिवांगीले ४ मिनेट २६.२२ सेकेन्डमा निर्धारित दुरी पुरा गरिकी थिइन्। तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गरेकी थिइन्।
गौरिकाले यसअघि २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन्। गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन्। जारि सागमा यो नेपालले जितेको ४५ औं स्वर्ण पदक हो।