एजेन्सी– हामी जति धेरै दबाबमा हुन्छौँ त्यति नै हाम्रो मानसिक क्षमतामा कमी आउँदै जान्छ। यसको अर्थ हामी गलत काममा केन्द्रित भइरहेका हुन्छौँ र अन्त्यमा आफूले चाहेको नतिजा प्राप्त गर्न सक्दैनौँ। प्रायः अवस्थामा मानिसहरु जुन समय अत्यधिक व्यस्ततापूर्वक काम गरिरहेका हुन्छन् त्यही दिन उनीहरुले सोचेअनुरुप काम हुँदैन जसकारण पछिसम्म पछुतोको भावना रहिरहन्छ।
यस्तोमा हामी अर्को दिन केही फरक होला भन्ने आशाका साथ उत्साहपूर्वक काममा आउछौँ तर फेरि पनि त्यही प्रक्रियामै अगाडि बढिरहेका हुन्छौँ।
‘कार्यालय जीवन सन्तुलन’ सम्बन्धी लामो समयदेखि अध्ययन गरिरहेकी अमेरिकी अनुसन्धानकर्ता एन्टोनिया भिओलान्तेका अनुसार सबै कार्यस्थलमा एक किसिमको नियमित ‘प्याटर्न’ अर्थात क्रमबद्ध शैली अपनाइएको हुन्छ जस अनुरुप सबै काम हुन्छ। र यसमा सो शैली कत्तिको उत्पादनशील साबित भइरहेको छ भन्ने ख्याल नगरि दैनिक त्यही प्याटर्न दोहोरिरहने चलन सबैतिर व्यापक छ।
व्यवहारिक विज्ञान सम्बन्धी वैज्ञानिक र उनीजस्ता विश्लेषकहरुले यसलाई ‘टनेलिङ’ को नाम दिएका छन्। भिओलान्तेका अनुसार जब हामी अत्यन्तै तनावग्रस्त र निश्चित समय सिमाको दबाबामा हुन्छौँ तब एउटा ‘टनेल अर्थात् सुरुङमा भएजस्तै हाम्रो ध्यान र बौद्धिक क्षमता संकीर्ण हुँदै जान्छ।
यो कुनैबेला राम्रो पनि साबित हुन सक्छ जसले हामीलाई महत्वपूर्ण काममा पूर्ण केन्द्रित रहन मद्दत गर्दछ।
तर टनेलिङको नकारात्मक पक्ष बढि छ। जब हामी व्यस्तताको अवस्थामा समयको अभावबाट गुज्रिन्छौँ, हामी आत्तिन सुरु गर्छौँ र हामीसँग अति आवश्यक कुरालाई मात्र ध्यान दिन सक्ने शक्ति बाँकी रहन्छ।
जसले सानो तर उत्तिकै महत्वपूर्ण कामहरुबाट हाम्रो ध्यान हटाइदिन्छ र अन्ततः गलत निर्णयलाई जन्म दिन्छ।
तरपनि सबै मान्छे व्यस्त र उत्पादनशील हुन मन पराउँछन्। एक अध्ययनका अनुसार मान्छेहरु काम नगरि बस्नु भन्दा आफूलाई विद्युतीय झट्का दिनेको समर्थनमा छन्।
तर त्यही व्यस्तताको भावना प्राप्त गर्न हामी अनावश्यक काममा समय बिताउन पुगिरहेका हुन्छौँ। यसको उदाहरण हो इमेल र सामाजिक ञ्ंजाल। २०१५ को अध्ययन अनुसार बारम्बार मेल चेक गरिरहनेहरुको तुलनामा एउटा निश्चित तालिका निर्धारित गरि इमेल र सामाजिक सञ्जाल चलाउने बढी खुसी र कम तनावमा हुन्छन्।
समय अभाव र गलत निर्णयका विषय पहिलोपटक गरिबी सम्बन्धी अध्ययन गर्दा उठाइएको थियो। व्यवहारिक विज्ञानका अनुसन्धानकर्ताहरुले गरिब मानिसहरु किन उच्च ब्याजमा ऋण लिने वा लोटरी, जुवा खेल्नेलगायतका गलत विकल्प छनोट गर्छन् भन्ने बुझ्न भारतका कृषकहरुमा निकै लामो अध्ययन गरेका थिए।
यसमा खेतीबाट राम्रो उत्पादन भएको समयमा किसानहरु राम्रो अवस्थामा हुने गरेको तर खेती नभएको समयमा पैसाको अभाव हुँदा चाहिँ उनीहरुको मानसिक क्षमतामा गिरावट आउने गरेको पाइएको हो। यसरी उत्पादन बढेको समय र पछि पैसाको अभाव हुने समयबीच उनीहरुको ‘आइ–क्यु’ १३ अंकले घटेको थियो।
अक्सफोर्डमा व्यवहारिक अर्थशास्त्रका प्रोफेसर आनन्दी मनिका अनुसार समयको र पैसाको अभावको एकअर्कासँग प्रत्यक्ष सम्बन्ध छ।
जस्तै युनिभर्सिटी अफ सिकागोका प्रोफेसर अनुज शाहको अनलाइन गेमको अनुसन्धानमा खेलाडीलाई धनी र गरिबको वर्गमा छुट्याइएको थियो।
जसमा गरिबहरु पहिले त आफूसँग भएका श्रोतबारे अत्यन्तै सतर्क थिए र सही उपयोग गरिरहेका थिए।
तर समय कम हुँदै जाँदा उनीहरुको ध्यान तत्काल खेलिरहेको राउन्डमा मात्र केन्द्रित रह्यो जसकारण उनीहरुले भविष्यका लागि राम्रो रणनीति बनाउन सकेनन् र भयानक निर्णयहरु पश्चात् उनीहरु नराम्ररी पराजित हुनु पर्यो। त्यसैले सबै मानिसहरुले समयलाई निश्चित र सीमित स्रोतका रुपमा पहिचान गरि तत्कालका लागि कम जरुरी देखिए पनि दिर्गकालीन रुपमा ठूलो भूमिका खेल्न सक्ने काम पहिले पूरा गर्ने प्रयास गर्नुपर्छ।
उनी भन्छन्, “समय कम छ भन्ने बित्तिकै हामी नराम्रो अवस्थामा पुगिसक्यौँ भन्ने बुझ्नुपर्छ। तर हामीले अगाडि नै समय राम्ररी व्यवस्थित गर्न सक्यौँ भनेचाहिँ भविष्यमा त्यो अवस्थाबाट बच्न सक्नेछौँ। ”बीबीसी