एजेन्सी– टेस्लाका मालिक एलन मस्कले आफ्नो नयाँ कम्पनी “न्युरालिङ्क” का केही अनौठा योजना सार्वजानिक गरेका छन् जसले सबैलाई आश्चर्यमा पारिदिएको हो। मंगलबारको कार्यक्रममा बोल्दै उनले मान्छेको मस्तिष्कमा ब्लुटुथ जस्तै काम गर्ने चिप प्रत्यारोपण गरि दिमाग ह्याक गर्न सकिने बताएका हुन्। यसले हाम्रो सोचलाई कम्प्यटुरसँग सिधा सम्पर्क गराउनुका साथै दिमागका बिरामीहरुलाई पनि ठूलो मद्दत पुर्याउने उनको भनाइ छ।
तिनका अनुसार यो प्रणाली यसअघि बाँदरमा परीक्षण गरिएको थियो जसपछि त्यसले दिमागबाटै कम्प्युटर नियन्त्रण गर्न सकेको थियो। यसरी न्युरोलोजी सम्बन्धी गम्भीर बिरामीहरुका लागि यो अधिक उपयोगी हुने र यो यन्त्र भविष्यमा व्यापक ट्रेन्ड बन्ने समेत उनले दाबी गरेका हुन्।
सो डिभाइसमा एउटा चिप हुनेछ जुन हाम्रो कपालको आकारका १ हजार वायरसँग जोडिएको हुने मस्कले बताए। यस चिपमा एप्पलको म्याकबुकमा प्रयोग गरिने एडप्टर जस्तै युएसबी–सी पोर्ट जडान गरिएको हुन्छ जसलाई ब्लुटुथ मार्फत कम्प्युटर र स्मार्टफोनसँग जोड्न सकिने मस्कको भनाइ छ। उनले भनेका छन्, “मस्तिष्कमा प्रत्यारोपण गर्दा अवश्य पनि सबैले सानै उपकरण चाहनेछन्।” यसरी सो डिभाइसले मान्छेको स्मरण शक्ति बढाउनेदेखि स्ट्रोक, क्यान्सर लगायत धेरै बिरामीहरुलाई उपयोगी हुने उनले बताए। कम्पनीका अनुसार मानव मस्तिष्कमा १० युनिट सम्मको वस्तु प्रत्यारोपण गर्न सकिन्छ। ती चिपहरु भने आइफोनको एपसँग कनेक्ट गरिनेछ जसलाई मान्छेले दिमागबाटै नियन्त्रण गर्न सक्ने बताइएको हो।
यसमा सो चिप कम्पनीले निर्माण गरेको रोबोटले नै इन्स्टल गर्नेछ। मस्कका अनुसार सर्जनको सञ्चालनमा रोबोटले हाम्रो टाउकोमा २ मिलिमिटर सम्मको प्वाल पार्नेछ र व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरिदिनेछ। चिपको “इन्टरफेस, वायरलेस” हुने भएकाले टाउकोमा कुनैपनि तारहरुले नघोच्ने वा अवरोध नगर्ने पनि उनले बताए जुन अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ छ। यसको परीक्षण २०२० अन्त्य हुनु अगाडि नै सुरु हुन सक्ने उनले बताएका हुन्।
यस किसिमको योजना मस्क भन्दा अगाडि गुगल र फेसबुकले पनि सार्वजानिक गरेका थिए। तर यसका आलोचकहरुले दिमागबाट सिधै डाटा लिने सम्बन्धी उपभोक्ताले कम्पनीलाई विश्वास गर्नेप्रति शंका व्यक्त गरिरहेका छन्। यसरी हाम्रो मस्तिष्कका जानकारीहरु ठूला कम्पनीहरुलाई सुम्पिनुले समाजमा भिन्दै किसिमको असहजता उत्पन्न गराउने फरट्रम रिसर्चका प्रमुख विश्लेषक ड्यानिअल न्युमन बताउँछन्। उनले भनेका हुन्, “यस दिशामा अघि बढिरहँदा हामी पूर्ण रुपमा विस्वस्त हुन सक्नेछौँ र सहज महसुस गर्नेछौँ भन्नेको कुनै प्रमाण छैन।”
त्यसैगरी यो प्रविधिले दिमागी चोट वा ट्रमामा रहेका बिरामीलाई मद्दत गर्ने सम्बन्धी अर्को संस्था प्राइभेसी इन्टरनेस्नलका फ्रेडर्की काल्थेउनरले सिएनएनसँग भनेका छन् “त्यसरी कच्चा मस्तिष्क गतिविधिबाट डाटा संकलन गर्नुले मान्छेको शारीरिक र मानसिक क्रियामलापलाई प्रभाव पार्नुका साथै सोच हेरफेर गराउन सक्छ वा शोषणका लागि दुरुपयोग गर्न सकिने हुँदा उनीहरु ठूलो खतरामा पर्न सक्छन्। किनकी हामीलाई अझै थाहा छैन सो डाटाको पहुँच कोसँग हुनेछ र के त्यो तेस्रो पार्टीसँग पनि शेयर गरिनेछ। हाम्रो डाटामा हाम्रो मात्र पूर्ण नियन्त्रण हुन जरुरी छ।’ यसअघि पनि प्राविधिक कम्पनीहरु प्रयोगकर्ताको डाटा लापरबाहीपूर्ण ढङ्गले सम्हालेकामा आलोचित भइसकेका छन्। यसरी एलन मस्क सामान्य अवस्थामा असम्भव मानिने यस्ता अन्य विभिन्न योजनामा काम गरिरहेका छन्। बीबीसी