कास्की– १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको सोमबार फाइनल खेल हुँदैछ। स्वर्ण पदकको लागि फाइनलमा नेपालले पटकपटकको चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्दैछ। खेल पोखरा रंगशालामा दिउँसो १ बजे शुरु हुनेछ।
महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म नेपालको उपाधि यात्रामा भारत जहिले पनि तगारो बनिरहेको हुन्छ। अधिकाशं खेलहरुमा भारत नै हाबी भएपनि नेपालले भारतलाई कडा टक्कर भने दिइनैरहेको हुन्छ।
सोमबार हुने महिला फुटबलको फाइनल खेल पनि राेमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ। सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा यसै संस्करणको लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदलालिँदै घरेलु मैदानमा स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा छ भने भारत नेपाललाई पराजित गर्दै उपाधि उचाल्नेमा विश्वस्त छ।
जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो। भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो।