काठमाडौं – काठमाडौंको चाबहिलमा आइतबार घटेको बाँकेको कोहलपुरको घटनामा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका सहभागीहरुले विद्यार्थीमाथि प्रहरी दमनको विरोध गर्दै नाराबाजीकासाथ पशुपति क्याम्पसबाट सुरु भएको विरोर्ध याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो। उनीहरुले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन्।
कार्यक्रममा नेविसंघका नेता मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका छन्।
आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्। प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ।