सिरहा– लुटेराहरुका सिरहाको लहानस्थित सिभिल बैंकको एटिएम लुट्ने प्रयास असफल भएको छ। लहान नगरपालिका–४ स्थित कृष्ण गुप्ताको घरको भूइँतलमा रहेको बैंकको एटिएम फोडेर लुट्न खोजिएको हो।
लुटेराहरुले एटिएमको बन्द सटरमा प्वाल पारेर भित्र छिरी एटिएम लुट्न खोजेका थिए। तर, नसकेपछि उनीहरु त्यहाँबाट भागेका प्रहरीले जानकारी दिएको छ। सिभिल बैंकको लहान शाखाका प्रबन्धक सरोज घिमिरेकको अनुसार एटिएम मेशिनमा राखिएको करिब १५ लाख रुपैयाँ सुरक्षित फेला पारिएको छ।
बैंकमा कार्यरत एक कर्मचारीले घटनास्थलको अवस्था हेर्दा लुटेराहरुले मेसिन नै फोडेर रकम लुट्न खोजेका र एटिएमको लक तोड्न नसकेपछि लुटेराहरु त्यहाँबाट भागेका बताएका छन्। इलाका प्रहरी कार्यालय लहानले एटिएम लुट्न खोज्ने व्यक्तिको खोजी थालिएको जनाएको छ।