काठमाडौं– नेपाली सेनाले हवाई उडान क्षेत्रमा दुई जहाज थपिएको छ। अमेरिकाको सहयोगमा नेपाली सेनालाई दिने भनिएको एम १८ स्काई ट्रक मध्ये दुई वटा जहाज काठमाडौंमा अवतरण गरेको छ। आपतकालीन उद्धार, विपद् व्यवस्थापन तथा राहत वितरणको लागि काम लाग्ने सेनाले बताएको छ।
सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार भारत हुँदै शनिबार राति साढे दुई बजे नेपाल अवतरण गरेका उक्त जहाजलाई हाल सेनाको ११ नम्बर बाहिनीमा राखिएको र पुस २ गते औपचारिक हस्तान्तरण गर्ने कार्यक्रम छ। ‘२०७४ पुस ६ गतेको मन्त्रीपरिषद्को निर्णयअनुरूप मानवीय सहायता बढाउन उक्त स्काई ट्रक नेपाल आइपुगेका हुन।’ उनले भने ‘बाँकी दुई जहाज सन् २०२० र २०२१ सम्ममा नेपाल आईपुग्ने छन्।’
दुई करोड १८ लाख ९८ हजार डलर मूल्य रहेको दईटै जहाजको क्षमता १८ जना वा २३ सय क्विन्टल रहेको समेत उनले जानकारी गराए।हाल सेनासँग रहेका ६ जहाज तथा १३ हेलिकोप्टरमध्ये ७ वटा हेलिकप्टर काम गर्ने अवस्थामा रहेका छन् भने बाँकी मर्मत सम्भारको क्रममा ग्राउन्डेड रहेका र एउटा एभ्रो जहाज र स्काइ ट्रक लिलामीको प्रक्रियामा रहेको समेत उनले बताए।
सेनाले खरिद गरेको अगस्टालाई भने उक्त संख्यामा नजोडिएको उनको भनाई छ। ३० मिलियन अमेरिकी डलरमा खरिद गरि इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५ नामक कार्गाे जहाज गत कात्तिक १६ गते नेपाल आई पुगे पनि खरिद प्रक्रियाका पूर्ण कागजात नभएकाले उक्त जहाजलाई हाल व्यवसायिक संचालनमा नरहेको उनले बताए।