जुम्ला– जुम्लाको पातारासी गाउँपालिकामा २५ वर्ष मुनिका व्यक्तिहरुले मदिरा सेवन गर्न नपाउने भएका छन्। पातारासी गाउँपालिकाले नै २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो।
स्रोतका अनुसार उक्त ठाउँमा मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
गाउँपालिका अध्यक्ष लछिमन बोहोराले कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको जनाएका छन्। उनले पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको र पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको बताए।
अध्यक्ष बोहोराले उल्लेखित नियमविपरीतको कार्य गरेको पाइएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने बताएका छन्। त्यस्तै उक्त गाउँपालिकामा सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गर्न पनि रोक लगाइएको छ।