एजेन्सी– इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाद्वारा आफूविरुद्ध लगाइएको प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ घोषणा गरेका छन्।
अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभाव कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरिएको हो। बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ। बजेटको घोषणा गर्दै राष्ट्रपति रुहानीले बजेटबाट गत महिना इन्धनमा गरिएको मूल्यवृद्धिलाई लिएर आन्दोलनमा रहेका इरानी जनतालाई राहत दिने विश्वास व्यक्त गरे।
संसद्मा बजेटबारे बोल्दै राष्ट्रपति रुहानीले भने, ‘सरकारले अमेरिकी नाकाबन्दीका कारण इरानमा परेको प्रभाव कम गर्न ४ हजार ८८५ ट्रिलियन इरानी रियाल (झण्डै ३६ अर्ब अमेरिकी डलर) को ‘प्रतिरोधी बजेट’ले राहत गर्नेछ।’ अमेरिकी नाकाबन्दी र दबावका कारण इरानी जनता आर्थिक मन्दीको सामना गरिरहेको हुँदा नागरिकको क्रयशक्ति घटेको रुहानीले स्वीकार गरे। उनले इरानी जनताले अमेरिकाविरुद्ध सरकारको कार्यक्रममा साथ दिने बताए।
तेल निर्यात प्रमुख आम्दानीको स्रोत रहेको इरानमा नाकाबन्दीका कारण परेको आर्थिक संकटलाई सहयोग गर्ने उद्देश्यले इन्धनमा व्यापक मूल्यवृद्धि बढाइएको थियो। मूल्यवृद्धि भएपछि इरानी जनताले सडकमा प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको छ।
अमेरिकाले सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा अमेरिकालाई कुनै लाभ नभएको भन्दै पुनः सम्झौता गर्न इरानमाथि दबाव दिन नाकाबन्दी गरिएको जनाउँदै आएको छ। इरानी अर्थतन्त्रमा पछिल्ला केही वर्षमा परेको प्रभावका कारण इरानले व्यापक मुद्रास्फीर्तिको सामना गरिरहेको छ।