कठमाडौं _ नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्ष्भित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ।
आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताए।
द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेकाले अब योजनाबद्धरुपमा काम अघि बढाइने सेनाको भनाइ छ। पहिलो चौमासिकमा उल्लेखनीय प्रगति हुन नसके पनि दोस्रो चौमासिकमा काम अघि बढ्ने उनको भनाइ छ।
अबको १५–२० दिनमा गुरुयोजना बनेपछि आयोजना कसरी अघि बढाइने भन्ने प्रष्ट खाका आउने बताइएको छ। उनले भने, “पहिलो चौमासिकमा ठेक्का आह्वान गर्नेलगायतका काम भए पनि अबको दिनमा द्रुतरुपमा काम हुनेछ।”
काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको सो मार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर हुने डिपिआरमा उल्लेख छ। त्यसमध्ये झण्डै ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ।
आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ। तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ तीन दशमलव पाँच किलोमिटर हुनेछ। सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुवैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजना प्रमुख श्रेष्ठले बताए।
सुरुङ निर्माण सम्पन्न गर्न चार वर्ष पर्याप्त समय भएको उहाँले बताउनुभयो। उनले भने, “१० देखि १२ वटासम्म ठेक्कामार्फत कामलाई अघि बढाइनेछ।” पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत प्रतिवेदनमा ८६ पुल निर्माण हुने उल्लेख छ। जटिल मानिएका ठूला १६ पुलको निर्माण आगमी वर्ष पुसमा शुरु हुनेछ भने ती बाहेकका अरु पुलको निर्माण आगामी भदौमा शुरु हुने बताइएको छ।
चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरु ठाउँमा २५ मिटर चौडाइ हुनेछ। आयोजनामा तीन वटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ।
प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको काम अघि बढाउनका लागि चालू आवमा पाँच वटा ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए। आयोजना निर्माणस्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको कामसमेत गत वर्षदेखि अघि बढाइएको छ।
आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ। आगामी वर्षदेखि नै विभिन्न सडकमा कालोपत्रको समेत काम अघि बढाइने छ। आगामी वर्ष मङ्सिरमा कालोपत्र शुरु गरेर विसं २०८० असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ।
आयोजनाअन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण २०८० मङ्सिरसम्ममा सम्पन्न हुनेछ। आगामी वर्षदेखि शुरु गरेर तीन सुरुङमार्ग विसं २०८० वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ।
गुरुयोजनामा आयोजना कति वटा खण्डमा, कति ठेक्कामार्फत सम्पन्न गर्ने भनी उल्लेख हुने सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो। उहाँका अनुसार अहिले परामर्शदाता छनोटको कामसमेत अघि बढाइएको छ।
गत वर्ष परामर्शदाता छनोट प्रक्रिया अघि बढाइए पनि प्राविधिक त्रुटिका कारण सूचना चुहावट भएको भनी रद्द भएको थियो। उनले भने, “केही समयमा परामर्शदाता छनोट भएसँगै निर्माणको काम पनि दु्रतरुपमा अघि बढ्नेछ।” रासस