काठमाडौं– यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ। नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख रकम विनियोजन गरिएको हो।
गत वर्ष पनि रु ५० लाख रकम विनियोजित भएको र सो रकमले लमही आँखा अस्पतालमा कर्मचारी आवास भवन निर्माण शुरु गरिएको नेपाल नेत्रज्योति सङ्घ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। गत वर्षको अधुरो भवनको भौतिक निर्माण सम्पन्न गर्न रकम विनोयोजन गरिएको निर्वाचन क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले जानकारी दिए।
त्यस्तै लमही आँखा अस्पतालको भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना तयार भएसँगै कर्मचारी आवास भवन निर्माण शुरु गरिएको र सो रकम यस आर्थिक वर्षमा पनि भवनमा लगाउने निर्णय भएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए। अस्पतालमा भौतिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा कठिनाइ भएको र अब कर्मचारी भवन निर्माणसँगै कर्मचारीलाई पनि आवासका लागि सहज हुने अस्पतालले जनाएको छ।
त्यसैबीच लमही नगरपालिका वडा नं ५ का वडाध्यक्ष विमबहादुर केसीमा बसेको बैठकले निर्माणाधीन भवन निर्माणलाई पूरा गर्न भवन निर्माण समिति गठन गरेको छ। सङ्घका सदस्य तिलकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो।
त्यस्तै नेपाल नेत्रज्योति सङ्घ दाङले बजेट विनियोजनमा सहयोग गर्ने यस क्षेत्रका सम्पूर्ण संसादलाई धन्यवाद दिएको छ। सङ्घका सभापति कृष्णकुमार गिरीले संस्थाको भौतिक विकास तथा आँखा स्वास्थ्य सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिलाई धन्यवाद दिएका हुन्। ‘हाम्रो अभियान भनेको आँखा स्वास्थ्य सेवालाई सर्वसुलभ र भौतिक तथा सबै किसिमले आँखा अस्पताललाई सम्पन्न गर्ने हो यसमा साथ र सहयोग गर्नुहुने सबैमा सङ्घले आभार प्रकट गर्दछ’, उनले भने। रासस