काठमाडौं– नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको साहित्यकारको अर्को परिचय पनि छ। उनले लेखेको पहिलो उपन्यास ‘कारा’ यसै साता बजारमा आएको छ।
कारा भनेको के हो?
उपन्यासकार कार्कीका शब्दमा, ‘कारा’ एउटा बन्धनको कथा हो। महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरूलाई लगाउने गरेका अनेक बन्धनहरूको कथा यसले बताउँछ।’ निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन शुरू भएको समयको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि हो। बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो, कारा।
‘लोकतान्त्रिक आन्दोलन क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरू सुनेँ। देखेँ। त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीले भनिन्। पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे भोगेका महिलाहरूका पिंडा पनि यो उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ। अघिल्लो वर्ष प्रकाशित कार्कीको ‘न्याय’ नामको आत्मकथा धेरै पढिएका नेपाली कृतिमध्ये पर्छ। ‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नयाँ पुस्तक हो। कार्कीले नेपाली साहित्यमा चलाएको कलम पनि महत्वूर्ण मानिएको छ।
‘हामीले यो उपन्यास मार्फत् सुशिला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं। यसले पाठकहरुलाई फरक स्वाद दिने हाम्रो अपेक्षा छ,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले बताइन्।