काठमाडौं– गत १० दिनदेखि काठमाडौंमा जारी १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा नेपाल र भुटानले फुटबलमा गरेको प्रदर्शनमा केही भिन्नता रह्यो।
नेपालले पहिलो खेलमै भुटानलाई ४–० ले हराएको थियो। त्यसपछिका खेलमा नेपालले हार्न त कुनै हारेन तर प्रदर्शनमा भने केही कमजोरी देखा परे। भुटान भने एकपछि अर्को जित हासिल गरेर फाइनल पुग्ने पहिलो टोली बन्यो।
मङ्गलवार सागको औपचारिक समापन हुनुअघि दशरथ रङ्गशालामा हुने फुटबल फाइनलमा यसपालि पहिलो पटक नेपाल र भुटानको भेट हुँदैछ। दक्षिण एशियाली खेलकुदको यो संस्करणमा यी दुई टोलीको यात्राको यहाँ विश्लेषण गरिन्छ।
लीग यात्रा कस्तो रह्यो?
यसपालि प्रतियोगिताको सुरुमै नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको थियो। त्यसपछि नेपालले श्रीलङ्कासँग १–१ को बराबरी खेल्यो भने माल्दिभ्सलाई २–१ ले हरायो। बंगलादेशलाई लीगको अन्तिम खेलमा १–० ले हराउँदै नेपाल लीगको अङ्कतालिकामा सबभन्दा अगाडि रह्यो। भुटानको यात्रा त झन् अविस्मरणीय रह्यो।
नेपालसँग चार गोलले हारेको भुटानले त्यसबाहेक भने एउटा खेल पनि हारेन। एकपछि अर्को इतिहास रच्दै उसले माल्दिभ्सलाई २–१, श्रीलङ्कालाई ३–०, अनि बंगलादेशलाई १–० ले हराएको छ।
नेपाल–भुटानः बलिया र कमजोर पक्ष के हुन्?
लीग चरणका खेलहरू नियाल्दा दुवै टोलीका केही बलिया र कमजोर पक्ष देखिएका छन्। नेपालको निम्ति बलियो पक्ष भनेको भुटानसँग यसअघिको खेलमा सहज जित हात पार्न सक्नु, घरेलु वातावरण एवम् दर्शकको अपार समर्थन।
नेपाली टोलीले देखाएको सामूहिक कौशल पनि उसको बलियो पक्ष हो। अघिल्लो सागको विजेता टोली भएकाले पनि नेपाली खेलाडीहरूको आत्मविश्वास बढेकै छ। सन् १९८४, सन् १९९३ र सन् २०१६ मा गरी नेपालले तीन पटक दक्षिण एशियाली उपाधि जितिसकेको छ।
नेपाली टोलीको कमजोर पक्षमा चाहिँ निर्णायक खेलहरूमा पर्ने दबाव झेल्न नसक्नु अनि समान प्रदर्शनको अभाव रहने गर्छ।भुटानको हकमा उसले पछिल्लो समय फुटबलमा दिइरहेको ध्यान, एकपछि अर्को जितले दिलाएको आत्मविश्वास, इतिहास रच्न पाउने प्रेरणा तथा आफ्नै देशको जस्तो मौसम बलिया पक्ष देखिन्छन्।
उसका निम्ति कमजोर पक्ष भनेको लीगमा नेपालसँग पाएको परिणामको दबाव, दशरथ रङ्गशालामा नेपालले पाउने समर्थन अनि नेपाली टोलीसँगको नमिठो इतिहास नै रहने देखिन्छ। “नेपाली टोलीले धेरैजसो दर्शकको हौसला पाउँदा राम्रो प्रदर्शन गर्ने गरेको पाइन्छ। त्यो हौसलाले खेलाडीलाई दोबर मेहनत गराएको देखिन्छ,’’ थ्रीस्टार क्लबका प्रशिक्षक तथा पूर्वखेलाडी मेघराज केसीले बताए।
केसी थप्छन्, “यसपालि भुटानले निकै प्रगति गरेको छ। दक्षिण एशियामा उसले स्तब्ध पार्ने परिणाम निकालिरहेको छ। तर अझै पनि नेपाली फुटबलको स्तरमा भुटान पुगेको छैन। त्यसैले नेपालले वास्तविक खेल प्रदर्शन गर्न सक्यो भने स्वर्ण पदक टाढा छैन।’’ खेल विश्लेषक तथा पत्रकार विनोद पाण्डे पनि यसपालि भुटानलाई नेपालको भौगोलिक स्थिति र मौसम अनुकूल भएको बताउँछन्।
“खेलमा खेलस्थल कति उचो भागमा छ र कस्तो मौसम छ भन्ने पनि महत्त्वपूर्ण मानिन्छ। त्यो हिसाबमा भुटानलाई काठमाडौंमा खेल्नु अन्यत्र खेल्नुभन्दा सजिलो हुन्छ,’’ पाण्डेले बताए।
भुटानमा कस्तो प्रतिक्रिया?
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाको तालिकामा नेपाल र भुटान दुवै पुछारतिर रहेका छन्। नेपाल १७० औँ स्थानमा छ भने भुटान १८९ औँ स्थानमा छ। पहिलो पटक दक्षिण एसियाली खेलकुदमा फाइनलमा प्रवेश गरेलगत्तै भुटानमा भने हर्ष छाएको छ। “यसपालि भुटानले धेरै कीर्तिमान भङ्ग गरेको छ। पहिलो पटक फाइनल पुगेको मात्र होइन, उसले पहिलो पटक श्रीलङ्का, माल्दिभ्सलाई जितेको छ,’’ केसीले भने।
आफ्ना खेलाडीको प्रदर्शनबाट मक्ख भुटानका प्रधानमन्त्री लोते छिरिङले सामाजिक सञ्जालमा खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूको प्रदर्शन आशा गरेभन्दा निकै राम्रो भएको लेखेका छन्।
नेपालमा आयोजित सागमा भुटानले अहिलेसम्म कुनै स्वर्ण पदक जितेको छैन। छवटा रजत र १३ वटा कांस्य पदकसहित ऊ पदकतालिकाको पुछारमा रहेको छ। तर उसले फुटबलमा स्वर्ण पदक जित्ने आशा राखेको छ। सागको यो संस्करणमा भारत र पाकिस्तानले आफ्ना फुटबल टोली पठाएका थिएनन्। बीबीसी