एजेन्सी– मन्त्रिपरिषदले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
संसदको हिउँदे अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई पत्र पठाइएको एक मन्त्रीले बताए। यसअघि असोज २ गते संसदको बजेट अधिवेशन सकिएको थियो। विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ। यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नुपर्नेछ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि जेल चलान भएका छन्।
सभामुख नभएका कारण विधेयक प्रमाणीकरण हुन पाएका छैनन्। विधेयक प्रमाणीकरणको काम बाहेक अन्य काम भने उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्दै आएकी छन्।
सभामुखको अध्यक्षतामा रहेको सूचना आयोगको पदाधिकारी सिफारिस समितिको बैठकको अध्यक्षता उपसभामुख तुम्बाहङफेले गरिसकेकी छन्। समितिमा सञ्चार मन्त्री र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहन्छन्। समितिले गरेको निर्णयका आधारमा मन्त्रिपरिषद बैठकले सूचना आयोगका पदाधीकारीको नियुक्ति गरिसकेको छ।
प्रतिनिधि सभाको पहिलो बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
संसदको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची हुन्छ,’ उनले भने,‘पहिलो बैठकमै सभामुख चयनको प्रक्रिया तय गरिने सम्भावना पनि रहन्छ,’ उनले भने,‘जेहोस् प्रतिनिधि सभाको पहिलो एजेण्डा अब सभामुखको चयन नै हो।’