नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई रिचार्ज कार्ड कोट्याउने क्रममा पिन नम्बर मेटिएको अवस्थामा सहजरुपमा रिचार्ज गर्न सक्ने सुविधा दिँदै आएको छ। कम्पनीले रिचार्ज कार्डमा पिन नम्बर मेटिएर ६ वटा मात्रै बाँकी रहेको अवस्थामा पनि रिचार्ज गर्न सकिने सुविधा दिँदै आएको हो।
यसअघि रिचार्ज कार्डको पिन नम्बर मेटिएमा कार्ड साट्न कम्पनीको काउण्टरमै पुग्नु पर्ने बाध्यता रहेको थियो। काउण्टरमा उक्त कार्डको जाँच गरेपछि मात्रै टेलिकमले नयाँ कार्ड उपलब्ध गराउने गरेको थियो। तर, अब भने ग्राहक आफैले कम्पनीको वेबसाइटबाटै त्यस्तो समस्या सल्टाउन सक्नेछन्।
त्यसका लागि सुरुमा नेपाल टेलिकमको वेबसाइट मा जानु पर्ने छ। त्यहाँ ‘पिन रिकभरी‘ अप्सन दिइएको छ। उक्त अप्सनमा गएर त्यहाँ मागिएको तथ्याङ्क भरी आफ्नो मोबाइल रिचार्ज गर्न सकिने छ।
नेपाल टेलिकमको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहाेस् ! अथावा पिन रिकभरी अप्सनकाे लागि यहाँ क्लिक गर्नुहाेस् !
त्यसका लागि कार्डको सिरियल नम्बर भने आवश्यक हुन्छ। ग्राहकले वेबसाइटमा गएर रिचार्ज कार्डको सिरियल नम्बर, १६ अंकको रिचार्ज कार्डको पिनमध्ये बाँकी रहेको (कम्पीमा ६ वटा) पीन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्नेछ।
देखिएको पिन नम्बरलाई कार्डमा उपलब्ध गराइएको क्रमसँगै राख्नु पर्ने हुन्छ। अर्थात मेटिएको अंकमा ‘एक्स’ चिन्न राख्ने र अन्य बाँकी जस्ताको तस्तै उल्लेख गर्नुहोस् । जस्तो पीन नम्बरको ढाँचा ०९८७६५४३२११२३४५६ रहेको छ र त्यसको बीचका केही अंकहरु मेटिएको छन् भने, त्यहि अनुसार ०९८xx५४३x११xx२३xx५६ रुपमा राख्नु पर्ने हुन्छ।
अनलाइनबाट यसरी बढीमा १० पटक सम्म प्रयास गर्न सकिने सुविधा कम्पनीले दिएको छ। १० पटकसम्म प्रयास गर्दा समेत नभएको खण्डमा भने कार्ड लिएर कम्पनीको काउन्टरमै पुग्नु पर्ने टेलिकमले जनाएको छ।