एजेन्सी– अमेरिकी संसदमा हालै जम्मु–कश्मीरको मुद्दा उठाइएको छ। भारतीय–अमेरिकी सांसद प्रमिला जयपालले संसदमा जम्मु–कश्मीरबारे एक प्रस्ताव पेश गर्दै भारतले त्यहाँ लगाएको सञ्चार प्रतिबन्ध छिटो भन्दा छिटो हटाउन र सबै कश्मीरीहरुको धार्मिक स्वतन्त्रता संरक्षित गर्न अपिल गरेकी छन्।
केही सातादेखिको प्रयासपछि जयपालले प्रतिनिधिसभामा पेश गरेको उक्त प्रस्तावमा क्यान्ससका रिपब्लिकन सांसदको समर्थन मिलेको छ। संसदमा यो एक प्रस्ताव मात्रै भएको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन्। जसमाथि भोट हुने वा कानुन बनाउने प्रक्रिया हुँदैन।
प्रस्तावमा भारतले पूरै जम्मु कश्मीरमा सञ्चार सेवामा लगाइएको प्रतिबन्ध हटाउन र इन्टरनेट सेवा पुन सञ्चालन गर्न अपिल गरिएको छ। भारत सरकारले गत ५ अगस्टमा जम्मु कश्मीरको विशेष हैसियत खारेज गर्दै उसलाई केन्द्र शासित प्रदेशको रुपमा समेटेको छ।
तर यस्तो निर्णयको विरोध कश्मीरी जनताले नै गरेपछि हजारौंको संख्यामा सेनाले बन्दी बनाएको स्थानीय मिडियाले जनाएका छन्। साथै सञ्चार सेवा अहिलेसम्म खुलाइएको छैन।