तस्विरः अनलाइन खबरबाट
काठमाडौं– निर्देशक शिव रेग्मीका वि.सं २०७० साल मंसिर २४ गते निधन भएको थियो। बल्खुको बयोधा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। मृगौला रोगबाट पीडित बनेका रेग्मीको उपचारको क्रममा निधन भएको हो। रेग्मीको निधन भएको आज ६ बर्ष पुरा भएको छ। उनको आज छैठौ बार्षिकी हो। नेपाली चलचित्रले शिव रेग्मीको अभाव हरेक दिन महशुस गरिरहेको छ।
शिवको संझना गर्दै कलाकार दीपकराज गिरी लेख्छन्, ‘चलचित्र लेखनमा म कसैको फ्यान थिएँ भने त्यो शिव रेग्मीको नै थिएँ। बिषयवस्तु उठान, त्यसको प्रस्तुतिकरण र मर्मस्पर्शी संवाद, कमेडी सेन्स, गीत लेख, समग्रमा भन्नुपर्दा उहाँ चलचित्र लेखनको लागि सिंगो पाठशाला नै हुनुहुन्थ्यो।’ शिव रेग्मीले निर्देशन गरेका धेरैजसो चलचित्रले ५१ र १०० दिन मनाएका छन्। शिव रेग्मीका ‘आफन्त, आफ्नो मान्छे, सुख दुख, हामी तिन भाई, कहाँ भेटिएला, ए मेरो हजुर’ जस्ता चलचित्रहरु सर्वाधिक हिट थिए। अधिकांश हलमा ५१ र १०० दिनको रेकर्ड राखेका यी चलचित्रले दर्शकलाई रुवाए, हसाँए पनि।
उनले निर्देशन गरेका ‘पाहुना, उपहार, साथी म तिम्रो, मानिस, सो सिम्पल’ जस्ता चलचित्रहरु दर्शकको मानसपटलमा अझै पनि ताजा बनेर बसिरहेका छन्। चलचित्र निर्देशनमा मात्र नभएर लेखनमा पनि रेग्मी अगाडि थिए। चलचित्रमा सामाजिक कथावस्तु, मानविय संवदेना, भावना र आँशु मिसाउन उनी माहिर मानिन्थे।
रेग्मीलाई कतिपयले ‘रुवाउन सिपालु निर्देशक’ पनि भन्थे। शिव रेग्मीपछि नेपाली चलचित्रमा थुप्रै निर्देशकहरुको उदय भयो। कतिपयले भिन्न धार बोके भने कतिपयले कुनै एउटा विधा समाते। तर, उनको जस्तो दर्शकको मनमै छुने चलचित्र बनाउन भने कमै मात्र निर्देशक सक्षम छन्। उनले नेपाली चलचित्रमा उनलाई सधै भरि सम्झने बाटो बनाएका छन्।