काठमाडौं– विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालस्थित कार्यालय प्रमुखहरुले विदेशी एयरलाइन्सहरूमा भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको बताएका हुन्।
नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिंहदरबारमा संस्कृति, पर्यटन तथा विदेशी एयरलाइन्सहरूको सङ्गठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का पदाधिकारीसहित विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको पर्यटन मन्त्रालयले जनाएको छ।
मन्त्री भट्टराईले छलफलमा भ्रमण वर्षको तयारीबारे विदेशी एयरलाइन्सहरूलाई जानकारी गराउँदै विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई एयरलाइन्सहरुमा भम्रण वर्षको विशेष ‘प्रमोशन’ गरीदिन आग्रह गरेका थिए।
उनले नेपाल आउने पर्यटकरुका निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे। विमानहरुमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० सँग सम्बन्धी सामग्रीहरुको छोटो प्रदर्शनी, विमानका यात्रुहरुलाई नेपाल भ्रमण वर्षका बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्रीहरु राखिदिन आग्रह गरेका थिए।
नेपाल भ्रमणमा बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन मन्त्री भट्टराईले आग्रह गरका छन्। उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि सरकार तयार रहेको समेत बताए।
उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए। बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अध्यक्ष टङ्कनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्यासमेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सहरुको सहयोग रहने बताए।
बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रमहरु घोषणा गरीदिन छलफलमा आग्रह गरेका छन्।