काठमाडौं– ‘चञ्चले कान्छी’ देखि चन्द्रकोटकी नानीसम्म आइपुग्दा २५ वर्षभन्दा लामो समय बितिसकेको छ। यी गीतका गायक विवेक श्रेष्ठले हालसम्म पोखराबाट बेलायत हुँदै अष्ट्रेलियासम्मको चक्कर लगाइसकेका छन्। तर उनको आवाजको मिठास अझै उस्तै छ। उनको गायकीको जादू आज पनि नयाँ नै छ। विवेक ‘कन्दरा’ समूहको प्रतिनिधि नाम हो। यसमा सुनिल थापा, बुद्धराज बज्राचार्य लगायतका सदस्य छन्।
‘कन्दरा’ सम्बत् पचासको दशकमा नेपाली लोक मिठासले भरिएका गीतहरुबाट कुनाकन्दरा सम्मका स्रोताको मन जित्न सफल ब्यान्ड हो। ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘डाँडापारी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ आदि समूहका बहुचर्चित गीत हुन्। यिनैमध्ये ‘तिमी पारी’ र ‘लेककी हे माया’ गीत लाइभ रेकर्ड गराई फरक स्वादमा ‘कृपा अनप्लग्ड’ मा हालै सार्वजनिक भएको छ। नयाँ तथा पुराना सर्जकका अनप्लग्ड गीतहरु रेकर्ड गर्दै आएको कृपामा आफ्नो गीत रेकर्ड गराउन विवेक अष्ट्रेलियाबाट काठमाडौं आएका थिए।
नेपाली संगीत मन पराउने एउटा पुस्ताको मनमा बसिसकेका नाम हो ‘कन्दरा’। यसका पुराना चर्चित गीतलाई पुरानै मिठास तर नयाँ शैलीमा नयाँ पुस्ताका स्रोतनमाझ पुग्न पाउँदा उत्साहित बनेको गायक श्रेष्ठले बताए। उनले भने, ‘नेपालबाट टाढा बसेर पनि नेपाली संगीतसँग जोडिने मेरो र हाम्रो समूहको निरन्तर प्रयासलाई कृपा अनप्लग्ड सेसनले थप उर्जा दिएको छ।’ कृपा सिजन ३ का लागि तयार पारिएको कन्दराको अनप्लग्ड भिडियो कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतमा मान्छेलाई पुरानो स्मृतिमा फर्काउने तत्व हुन्छ। कसैलाई विद्यालयकालीन दिनमा लैजान्छ त कसैलाई आमाबुबाको याद दिलाउँछ। प्रेम गर्ने जोडीका लागि त गीतहरु हाँस्ने या रुने सदाबहार बहाना भइहाल्यो। कन्दराको भिडियोले पनि धेरैलाई नोस्टाकल्जिक बनाईरहेको छ। गीतबारे आएका प्रतिक्रियाले यही भन्छ। गीतको भिडियोमा आउने कमेन्ट बक्समा केही रमाइला त केही मर्मस्पर्शी प्रतिक्रियाहरु छन्।
केही प्रतिक्रियाहरु–
म अहिले २० वर्षको भएँ। मेरो बुबा तिमी पारी त्यो गाउँमा र तगारोमा रुमाल राखी गाउने गर्नुहुन्थ्यो। बिस्तारै यी गीत मलाई पनि मनपर्न थाले।
केही वर्षअघि विद्यालयको फेरवेलमा मैले पनि गाउने गीत बन्यो (तिमी पारी...
त्यो बेला त्यो वाकम्यानको ब्याट्री कति सकियो सकियो कन्दरा ब्याण्डको गित सुन्दा सुन्दा...
स्कुले दिनहरुको याद आयो। मेरो कक्षाको हरेक बेन्चहरुमा ब्यान्डको नामहरु थिए। र, कन्दरा ग्रुप हाम्रो नाममा थियो। २५ वर्षअघि रेकर्ड भएको गीतबारे कन्दराद्वारा दिइएको जानकारी पनि कमेन्ट बक्समा छ, जहाँ लेखिएको छ ‘तिमी पारी त्यो गाउँमा’ करिब २५ बर्ष अगाडि रेकर्ड गरेको यो गीतको भिडियो हामीले कहिले पनि बनाएनौं। त्यो बेलामा खासै गीत हेर्ने चलन थिएन। गीत त सुनिन्थे र मन मन्दिरमा घर बनाएर बस्दथे। पछि यो गीत यति धेरै मन पराईयो कि, हामीलाई यसको भिडियो बनाउनु नै डर लाग्न थाल्यो। तर आज कृपा अनप्लग्डमा यो गीत गाएपछि यसलाई अत्याधिक मन पराइ रहनु भएको छ र यसको लागि हामी यहाँँहरुलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौं। अझ यहाँँहरुको कमेन्टस पढ्दा झनै मन भावविह्वल भइरहेको छ।’
https://youtu.be/5GY4X5DZgi8