एजेन्सी – लिभरपुल समूह ‘ई’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो।
समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो। १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो। साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो।
रेडबुल एरिना अष्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन नावी केइटा र मोहम्मद सलाहले गोल गरे। उनीहरुले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गर्न सफल भएको थियो।
प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। लिभरपुलले ५७औं मिनेटमा साडियो मानेको पासमा नावी केइटाको गोलबाट अग्रता बनाएको थियो। लगत्तै ५८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो। त्यसपछि थप गोल निस्कन नसक्दा खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा पार्न सफल भयो।
यही समूहको अर्काे खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे। ड्रिएस मेर्टिन्सले एक गोल थपे।