काठमाडौं– भारतबाट ल्याएको तीन वटा मूर्ति मुलभटट्को निवासमा थन्किएको छ। विश्व सम्पदाको सूचिमा सुचीकृत पशुपति क्षेत्रमा प्रतिस्थापनका लागि भारतको गोवर्धनमठबाट ल्याएको जगन्नाथका मूर्तिहरु हुन्।
उच्चस्तरीय पहलमा आएको तीनवटा मूर्ति हाल पशुपति क्षेत्रभित्र प्रतिस्थापना गर्न नसकिने पशुपति विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताए। ‘भारतका मूर्तिलाई पशुपति क्षेत्रमा प्रतिस्थापनको लागि हामीलाई अनौपचारिक प्रस्ताव आएको थियो तर हामीले यो प्रस्तावलाई स्वीकार गरेनौं, यस्तो काम गरेपछि विवाद हुन्छ भन्यौं’, उनले भने, हामीले ती मूर्तिलाई यहाँ राख्न नदिएपछि यो विषय यतिकै टुंगियो।
स्रोतका अनुसार ती मूर्ति प्रतिप्रतिस्थापनका लागि कोषले अस्वीकार गरेपछि दूतावासमार्फत कुटनीतिक तथा राजनीतिक तहबाट समेत दबाब गरिएको छ।
पशुपतिमा तस्बिर विवाद
पछिल्लो समय पशुपतिमको तस्बिर विवाद पनि उत्कर्षमा पुगेको छ। मन्दिरभित्र गर्भगृहमा रहेको मुख्य शिवलिङ्गको तस्बिर सामाजिक सञ्जाल ह्वाट्सएपमा सार्वजनिक गरेपछि विवाद सुरु भएको हो।
पशुपति क्षेत्र विकास कोषको नीतिमा मन्दिर परिसरभित्र तस्बिर खिच्न नपाइने व्यवस्था गरिएको छ। तर, पशुपतिकै मुख्य शिवलिङ्ग सार्वजनिक भएपछि तनाव उत्पन्न भएको छ। शिवलिङ्गको तस्बिर सार्वजनिक गरिएको उक्त ह्वाट्सएप समूह पशुपति विकास कोषकै नवनियुक्त सदस्य अर्जुनप्रसाद बास्तोलाको नामबाट खुलेको थाहा भएपछि विवादले थप जटिल मोड लिएको छ।
सदस्य बास्तोलाले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। साता ‘पशुपति सन्त सम्मेलन’ नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर पठाइपछि विवाद सुरु भएको थियो।
उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्। त्यो तस्बिर उक्त समूहमा रहेका व्यक्तिहरूले देखेपछि कतिपयले निषेधित क्षेत्रभित्र तस्बिर खिचेर गुह्य साधना गरिने स्थलको अनादर गरेको भन्दै आपत्ति जनाएका थिए।