एजेन्सी– ८० र ९० को दशककी हलिउडकी सर्वाधिक लोकप्रिय गायिका मेरी फ्रेडरिक्सनको ६१ वर्षको उमेरमा निधन भएको छ। उनले आफ्नो ब्रेन ट्युमरको उपचारका लागि रेडिएशन उपचार गराइरहेकी थिइन्। थुप्रै पप गीतमार्फत् चर्चा हासिल गरेकी मेरीका लागि पछिल्लो एक दशक निकै चुनौतीपूर्ण रह्यो। रिपोर्टका अनुसार मेरीको परिवारका सदस्यले उनको मृत्युबारे जानकारी दिएका हुन्। उनी पछिल्लो १७ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन्।
सन् २००२ मा ब्रेन ट्युमरबारे थाहा भयोः
सन् २००२ मा मेरी बाथरुममा लडेपछि उनी घाइते भएको खबर आएको थियो। त्यतिबेला उनलाई टाउकोमा चोट लागेको र स्वास्थ्योपचार पछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको रिपोर्टमा बताइएको थियो। रिपोर्टका अनुसार मेरीलाई बचाउनका लागि २५ प्रतिशत सम्भावना मात्र बाँकी थियो। मेरीले त्यसपछि रेडिएशन ट्रिटमेन्टको सहारा लिएकी थिइन्।
यद्यपि, सन् २०१६ सम्म उनले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् तर त्यसपछि उनले रोगका कारण त्यसपछि प्रस्तुती दिन नसक्ने घोषणा गरिन्। मेरीको मृत्युपछि संसार भरीका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन्। उनले ‘फेडिङ लाइक अ फ्लावर, लिसन टु योर हार्ट, स्लिपिङ इन माइ कार’ जस्ता लोकप्रिय गीतमा आफ्नो आवाज दिएकी छिन्। उनलाई ८० को दशककी सबैभन्दा सफल गायिकाको रुपमा हेरिन्छ। हलिउको संगीतमा एउटा तारा अस्ताएको मात्र नभई संगीत प्रेमीहरु सबैका लागि त्यही आभास भएको छ।