काठमाडौं– भर्खरै मात्र सम्पन्न भएको ‘दि भ्वाइस अफ नेपाल, सिजन–२’ का विजेता राम लिम्बुले २ मिनेटको भिडियोले आफ्नो करिअर नै परिवर्तन गरिदिएको बताएका छन्। ‘दि भ्वाइस अफ नेपाल’ को टिमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै रामले भने, ‘दि भ्वाइसको यात्रा जिन्दगीमा कहिले पनि बिर्सन नसक्ने, प्यारो क्षणको रुपमा रहेको छ।
जति जनाले पनि मलाई भोट गर्नुभयो, उहाँहरुकै मायाका कारण यो स्थानमा आउँन सफल भएको हुँ।’ रामले अगाडि भने, ‘यति धेरै माया पाउँछु भनेर मैले कहिले पनि सोचेको थिइनँ। म सामान्य घरको मानिस हुँ। धेरै नेपालीको जस्तो देशमा रोजगारी नपाउँदा विदेशिनु पर्ने वाध्यता मेरो पनि थियो। विदेश जानका लागि म तयार थिएँ।
तर, दि भ्वाइसको अडिसनका लागि २ मिनेटको भिडियो पठाएँ। सोही भिडियोले नै मेरो जिन्दगी पुरै परिवर्तन गरिदिएको छ।’ रामले आफ्नो जिवनलाई विश्वास गरेर अगाडि बढेको खण्डमा सपना पुरा गर्न सकिने बताए। उनले मिडियासँग भने ‘शोको नियम अनुसार एकजना विजेता बन्नैपर्ने थियो र त्यो म बनेँ। तर, यो शोमा सहभागी हुन आउने सबै जना विजेता हुनुहुन्छ।
यो शोले हामीलाई विउ मात्र दिएको छ। अब, त्यो विउलाई गोडमेल गर्ने वा के गर्ने भन्ने निर्णय हाम्रो हो। राम्रोसँग गोडमेल गरे हामी अगाडि जान सक्छौ, नत्र फेरि हामी हराउँछौ। भोली गएर दि भ्वाइसको टिमलाई पनि गर्व लाग्ने काम हामीले गर्न सक्नुपर्छ।’ कोच प्रमोद खरेलको टिममा उनी थिए।