धनगढी– कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रबाट बुधबार खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥यो। तीन दिनअघि धनगढी उपमहानगरपालिका क्षेत्रबाट पनि खैरो हिरोइनसहित तीन जना पक्राउ परेका थिए।
यही मङ्सिर १२ गते धनगढीको एक होटेलवाट ब्राउन सुगरसहित दुई युवती र एक युवकलाई पक्राउ गरिएकामा यसै महिना अर्को एक घटनामा एक भारतीय युवक र नेपाली युवक पनि खैरो हिरोइनसहित पक्राउ परेका थिए। लागुऔषधको ओसारपसार र सेवनमा संलग्न हुने पछिल्लो समयमा लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका घटनाले कैलालीमा यो समस्या ठुलो समाजिक चुनौती बन्न थालेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बढ्दै गएको लागुऔषधको समस्या समाजका लागि मुख्य चुनौतीका रुपमा देखिन थालेको बताउछन्। प्रहरीको एक्लो प्रयासले मात्र यो समस्या निराकरण हुन नसक्ने भएकाले सम्बन्धित अभिभावक पनि आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी र व्यवहारका बारेमा सचेत हुन निकै जरुरी भइसकेको उनको भनाइ छ।
‘कानून बमोजिम प्रहरीले गर्ने कारवाहीले मात्रै यो समस्याको समाधान पूर्ण रुपमा निराकरण हुन सक्दैन’, बस्नेतले भने, ‘समयमै अभिभावक सचेत हुनु जरुरी देखिएको छ। ‘जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषधको कारोवार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा फेला पर्ने गरेका छन्।
गत आवमा ८७ लागुऔषधसम्बन्धी मुद्दामा १२७ पक्राउ परेकामा चालू आवको चार महिनामा मात्रै ४८ मुद्दामा ७१ पक्राउ परिसकेका प्रहरीको तथ्याङ्क छ। लुकीछिपी सेवन र ओसारपसार गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्ने बताइएको छ। भविष्यका कर्णधार मानिने युवा यसरी लागुऔषध दुव्र्यसनीको सिकार हुने क्रम बढ्दै जाँदा समाजमा यो समस्याले गम्भीर रुप लिन थालेको प्रहरी अधिकृतको भनाइ छ।
लागुऔषधका अम्मली शुरुमा चुरोट खान सिक्ने र त्यसपछि विस्तारै लागुऔषधको कुलतमा फस्ने गरेका पाइएको छ। समाजमा हुने चोरी र लुछपाछका घटनामा कुलतमा फस्नेको हात रहने गरेको देखिएको छ। ‘यस्ता अधिकांश घटनामा कुलतमा लागेका युवाको संलग्नता बढी देखिने गरेको छ’, प्रवक्ता बस्नेतले भने, ‘जसका कारणा उनीहरुबाट नै समाजमा अशान्ति र चोरी गर्ने जस्ता घटना हुन थालेका छन्।’
यसको कुलतमा लागेकाले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै सजिलैसँग सीमा पारिबाट लागुऔषध भित्र्याई सेवन र कारोवार गर्ने गरेका पाइएको छ। यसको रोकथाममा सीमा नाकाका भारतीय प्रहरीले पनि सहयोग पु¥याउँदा कारोवार गर्ने धमाधम पक्राउ पर्ने क्रम बढेको बताइएको छ।
पछिल्लो समयमा जिल्लामा बढीजसो ब्राउन सुगर र ट्याब्लेटको सेवन तथा कारोवार गर्ने बढी फेला पर्ने गरेको बताइएको छ। लागुऔषधको ओसारपसार प्रयोग र सेवन रोकथामका लागि नियमित जाँचका साथै विभिन्न विद्यालयमा चेतनामूलक कर्यक्रम सञ्चालन भइरहेका भए पनि अपेक्षाकृत रुपमा यो समस्या घट्न सकेको छैन। (रासस)