एजेन्सी– बलिउड सुपरस्टार सलमान खानका अधिकांश चलचित्र इदमा रिलिज हुन्छन्। यसैले, इद पर्व बलिउडमा सलमानकै लागि हो भन्ने गरिन्छ। सलमानका चलचित्रले लगातार इदमा राम्रो कमाई पनि गरिरहेका छन्। तर, आउँदो बर्षको इदमा भने सलमानलाई अर्का नायक अक्षय कुमारले टक्कर दिने पक्का भएको छ।
सलमानको ‘राधे’ सँग अक्षयको ‘लक्ष्मी बम’ रिलिज हुँदैछ। यो बिषयमा सलमान भन्छन् ‘इद पर्वमा अर्को चलचित्रका लागि पनि स्थान छ।’ सलमानले अगाडि भने,‘मेरो चलचित्र पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हसुन सक्छन् मैले कहिलेपनि इद पर्व मेरो मात्र हो भनेको छैन। यो पर्वमा जसको चलचित्र पनि रिलिज हुन सक्छन्। हेर्ने वा नहेर्ने भन्ने निर्णय दर्शकले लिने हो।’
राम्रो चलचित्र बनेको खण्डमा चाडपर्वको बिदा नै आवश्यक नरहने सलमानको तर्क छ। सलमानले भने, ‘म दबंग ३ रिलिजपछि २ महिना विदा मनाउन चाहन्थेँ। राधेको कथा पनि तयार थियो। मैले यो कथा प्रभु देवालाई सुनाए, उनी काम गर्न तयार भए।’ यो बर्ष सलमान अभिनित चलचित्र ‘भारत’ ले दर्शकको अपेक्षाकृत साथ पाएन। यसैले, पनि आउँदो साता रिलिज हुन लागेको ‘दबंग ३’ ले बम्पर व्यापार गर्नेमा सलमान आशावादी छन्। तर नतिजा भने रिलिज पछाडि मात्र थाहा हुनेछ।