एजेन्सी– अफ्रिकी मुलुक नाइजरमा सैनिक क्याम्पमा भएको विस्फोटक हमलाका कारण ७१ सिपाहीको मृत्यु भएको छ।
मालीको सीमा नजिकै नाइजरको दक्षिण क्षेत्र इनेट्समा रहेको सैनिक क्याम्पमा भएको यो आक्रमणमा १२ जना घाइते हुनुका साथै अरु केही हराइरहेका छन्। घटनापछि रक्षामन्त्रीले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्। यससँगै इजिप्ट भ्रमणमा रहेका राष्ट्रपति मोहमदु इसोफुले स्वदेश फर्कने अवधि छोट्याएका छन्।
उनले ट्वीटर मार्फत पनि भ्रमण अवधि छोट्याएको जानकारी दिएका छन्। विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। गत सोमबार मात्रै अगन्डोस्थित सैनिक क्याम्पमा आक्रमणको क्रममा तीन नाइजेरियाली सिपाही र १४ विद्रोही लडाकु मारिएका थिए।
पछिल्लो आक्रमण भने फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँले विभिन्न पाँच देशका प्रमुखसँग भेटको तालिका तय गरेपछि भएको हो। आगामी साता फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रमा हुने त्यस भेटमा नाइजेरियाली राष्ट्रपति पनि सामेल हुने कार्यक्रम थियो।
सहेल क्षेत्रमा सुरक्षा अवस्था लगायत विषयमा बैठक केन्द्रित हुने बताइएको थियो। पछिल्लो समय माली र यसका छिमेकी नाइजर र बुर्किना फासोमा पनि द्वन्द्व तिब्र गतिमा बढेको छ । स्थानीय फौजलाई सघाउन भन्दै ४ हजार ५ सय फ्रेन्च सुरक्षाफौज तैनाथ भए पनि आक्रमण बढिरहेको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन्।