१) राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक
राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक भएको छ। मन्त्रीपरिषद्बारा प्रमाणिकरण भएको ३५ दिन पछि बुधबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नीति सार्वजनिक गरेका हुन्। बुधबार मन्त्रालयमा शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नीतिको मुख्य दस्तावेज वितरण गरिएको हो। सार्वजनिक गरेको शिक्षा नीतिमा शैक्षिक परामर्श सेवालाई थप प्रभावकारी बनाउनुको साथै यस्तो सेवा प्रदान गर्ने संस्थाहरूको नियमन गर्ने उल्लेख गरिएको छ।
२) युवक नहरमा मृत अवस्थामा फेला
कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्। आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएको छ।
३) टिपर दुर्घटनामा दुईको मृत्यु
हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ। हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताएका छन्।
४) विश्वमा सबैभन्दा धनी व्यक्ति जेफ बेजोसकाे सङ्घर्ष र सफलता
विश्वमा सबैभन्दा बढि सफल भएको अनलाइन सपिङ अमेजनको संस्थापक जेफ बेजोस आधुनिक इतिहासको सबैभन्दा धनी व्यक्ती बनेका छन्। हालै उनी बिल गेट्सलाई पनि पछि पारेर विश्वकै धनी बनेका हुन्। बेजोसको सम्पत्ति करिब १ सय ५० अर्ब डलर रहेको छ।
५) राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने
नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने बताएका छन्। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
६) रियालिटी शो ‘द लिडर’ प्रसारणमा आउने
एसआरबीएन मिडियाले नयाँ रियालिटी शो ‘द लिडर’ प्रसारणमा ल्याउने भएको छ। बिहीवार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै यस बारेमा जानकारी दियो। अहिलेसम्म कै फरक शो भनिएको कार्यक्रमको होस्ट पत्रकार रवि लामिछानेले गर्नेछन्।
७) पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने
दाेस्रो संकरणको पोखरा प्रिमियर लिग (पीपीएल)को विजेता टोलीलाई २७ लाख रुपैया दिइने छ। बिहीबार सार्वजनिक गरिएको पुरस्कार राशिमा दोस्रो हुने टोलीले १० लाख रुपैया पाउने उल्लेख गरिएको छ।
८) ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक

सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र
‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ।
‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। यो गीतको अडियो कर्णप्रिय छ।
‘प्रेमगीत, म यस्तो गीत गाउँछु’ मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ।
९) जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या
डोटी– जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ। भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन्। डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ। कूल चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन्।