काठमाडौं– लोकप्रिय गायक धर्मेन्द्र सेवानको युट्युब च्यानलबाट भर्खरै मात्र नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा धमेन्द्रकै शब्द, संगीत तथा स्वर छ। धमेन्द्र यो गीत आफूले ‘सफ्ट लभ म्यूजिक’ मन पराउने दर्शक–श्रोतालाई लक्षित गरेर तयार गरेको बताउँछन्।
उनले भने, ‘धेरै दर्शक–श्रोताले मैलै एक्लै गितार बजाएर गाएको मन पराउनु हुन्छ। मेरो रुचि पनि यसैमा छ। त्यसैले यो गीतलाई पनि सोही शैलीमा तयार गरेको छु।’ आफ्नो गीत दर्शकले सुन्दा आफ्नै अनुभुति सोचेर सुनुन् भन्ने सोच धमेन्द्रको हुन्छ। उनलाई एउटै चाहाना छ, उनको गीत र श्रोताको सम्बन्ध साथीको जस्तो होस्। ‘गुलाबको फूल’ प्रेमभावले भरिएको गीत हो। जुन हृदयदेखि नै प्रष्फुटित भएको छ। उनले भने–‘गीतमा एक पुरुष नारीको श्रृंगार पक्षसँग आफूलाई तुलना गरेर त्यसको अभिन्ने अंग बन्न चाहिरहेको छ। शिरबाट कम्मरसम्म पुग्दा यो गीतले उसको मन भित्रको प्रेमलाई व्यक्त गर्दै गएको छ।’
अहिले धेरै जना सर्जकहरु बजारको पछि दैडिरहेको अवस्था छ। बजारमा जे हिट छ, त्यसैलाई पछ्याउने धेरै जन्मिएका छन्। धमेन्द्र भन्छन्, ‘आखिर म पनि सोही भिडको पछाडि दैडिने हो भने मेरो परिचय कहाँ बन्छ र जस्तो लाग्न थाल्यो । त्यसैले आफ्नै जनरामा फर्किएँ।’ आफ्नो मनलाई सुनेर गरेका सृजनाहरु कहिल्यै पनि नमर्ने उनले बताए। भने‘मन वा आत्मालाई सुनेर गरेको संगीत सृजनाहरु एक्लै बस्दा आफैलाई नै सुनौ सुनौ लाग्ने रहेछ। तर, व्यवसायिक सोचले बनाएका गीतहरु त अरुले सुने पनि अप्ठ्यारो लाग्ने रहेछ। झन् त्यो समय पाएको प्रशंसा त निल्नु न ओकल्नु हुने रहेछ।’
आगामी दिनमा पनि धर्मेन्द्र बजारको पछि नलागेर आफ्नो मनलाई सुनेर गीत बनाउने बताउँछन्। उनले भने, ‘म मनको सन्तुष्टी चाहन्छु। त्यसैले मनलाई सुनेर नै गीत बनाउने छु।’ अहिले बजारमा हल्लाको भरमा गीतलाई बिगारेर भाईरल बन्न खोज्नेहरुका लागि उनको यो कडा चुनौती पनि हो।
https://www.youtube.com/watch?v=O97dn9f1LdQ