काठमाडौं– काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ। हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेको हो।
साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
‘कम लागत लाग्ने र धेरैले प्रयोग गर्न सकिने हुनाले यहाँबाट साइकल लेन सञ्चालनको सुरुवात गर्न लागेका छौँ’, उनले भने, ‘सहरी योजनाको सिद्धान्तअनुरूप साइकल लेन र पैदलमार्ग व्यवस्थित गर्नेछौँ।’
अहिले भएको साइकल लेनको उचित प्रयोगको वातावरण सिर्जना गरी भविष्यमा साइकल लेनको थप सञ्जाल विकास गर्ने गुरुयोजना तयार पारिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छन्।