एजेन्सी–फासीवादी पार्टीको पेज पुनःस्र्थापना गरिदिन फेसबुकलाई अदालतको आदेश, नभए दैनिक ८ सय युरो जरिबाना राखेको छ।रोम इटालीको एक अदालतले फासीवाद पक्षधर कासा पाउण्ड पार्टीको फेसबुक पेज पुनःस्र्थापना गरिदिन फेसबुकलाई आदेश दिएको छ। इटालीको राजनीतिमा सामाजिक सञ्जालको प्रभावलाई ध्यान दिँदै सो आदेश दिइएको जनाइएको छ।
अमेरिकी कम्पनी फेसबुकले हेट स्पीच घृणाको अभिव्यक्तिलाई कारण बताउँदै सो पार्टीको फेसबुक र इन्स्ट्राग्राम पेज ब्लक गरिदिएको थियो। तर, इटालीको अदालतले समानताको आधारभूत सिद्धान्तअनुसार त्यसो गर्न नमिल्ने जनाएको छ। सो अदालतले उक्त पार्टी पनि इटालीको संविधान अनुसार नै खुलेको उल्लेख गरेको छ।
फेसबुकले सो पार्टीलाई प्रतिबन्ध लगाउँदा एउटा राजनीतिक पार्टी राजनीतिक वादविवादमा सरिक हुनबाट बञ्चित हुनु परेको अदालतले उल्लेख गरेको छ।
इटालीका सबैजसो पार्टीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना सन्देश दिने गरेको स्मरण गराउँदै सो अदालतले उक्त आदेश उल्लंघन भएमा प्रति दिनको ८०० युरो जरिवाना तिर्नुपर्ने समेत जनाएको छ। यसैगरी फेसबुकलाई कानुनी शुल्कको लागि १५ हजार युरो तिर्न समेत निर्देशन दिएको छ।
२ लाख ४० हजार फलोअर्स रहेको कासा पाउन्ड पार्टीको पेज फेसबुकले गएको सेप्टेम्बर महिनामा ब्लक गरेको हो।