काठमाडौं– आज (शुक्रबार) बिहानदेखिनै काठमाडौंलगायत देशको विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविदहरुको अनुसार पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा हुनेछ।
देशका विभिन्न स्थानमा पानी परेको कारण जनजीवन प्रभावित बनेको छ। ट्राफिक प्रहरीले सडक हिलाम्य बनेकाले सडक दुर्घटना बढेको जानकारी दिएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुसार वर्षाका कारण सडकमा दुई पांग्रे सवारीसाधन चिप्लिएर बढी दुर्घटना भएको छ।
यात्रा सुरक्षित र सहज बनाउन महाशाखाले मोटरसाइकल लगायतका सम्पुर्ण सवारीसाधनलाई सचेत भएर चलाउन अनुरोध गरेको छ।
ट्राफिक प्रहरीले दिएको वर्षातमा सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरु निम्नानुसार छन्ः
१) सवारी साधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गराउनुस्
२) दृश्यता कम भएको खण्डमा हेडलाइट प्रयोग गर्नुस्।
३) सवारीको गति कम गर्नुस्।
४) पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छन्।
५) ब्रेकिङ दुरी बढाउनुस्।
६) सडकमा ध्यान मोडिने कार्य नर्गनुस्।
७) सवारी चलाउँदा मोवाइ वा ट्यावलेट प्रयोग नगर्नुहोस्।