एजेन्सी– बोरिस जोनसनको नेतृत्वमा कन्जर्भे्टिभ पार्टीले यूकेको आमनिर्वाचनमा ‘ऐतिहासिक’ विजय प्राप्त गरेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन्।
एक सिटको नतिजा आउन बाँकी रहँदा जोनसनको पार्टीले आवश्यक बहुमतभन्दा ७७ सिट बढी जितिसकेको छ। लण्डनमा बोल्दै जोनसनले यस जितलाई अर्को महिना कुनै किन्तु र परन्तुविना ईयूबाट यूकेलाई अलग्याउने जनादेश बताएका छन्।
आफ्नो आधारक्षेत्रमा पराजित भएपछि लेबर पार्टीका जेरेमी कोर्बिनले अर्को निर्वाचनमा आफूले नेतृत्व नगर्ने बताएका छन्। विजय सम्बोधनमा जोनसनले कार्यकर्ताहरूलाई ’हामीले गर्यौँ’ भन्दै यस नतिजाले देशको लागि नयाँ बिहानी सुरु भएको बताए।
उनले लेबर मतदाताहरूले पहिलोपटक कन्जर्भे्टिभ पार्टीलाई मत हालेकोमा धन्यवाद दिँदै आफूले ‘नागरिकको सरकार’को नेतृत्व गर्ने र आफूलाई दिइएको ‘पवित्र विश्वास’लाई न्याय गर्ने बताए।
“तपाईँहरूले अर्को निर्वाचनमा लेबरलाई मत हाल्ने सोचिरहनु भएको होला। यदि यस्तो हो भने तपाईँले मलाई दिनभएको विश्वासलाई नमन गर्छु र तपाईँहरूको समर्थनलाई हल्कारूपमा लिन्न।’’
“म दिनरात मेहनतले काम गरेर तपाईँको मलाई मत हाल्ने निर्णयलाई सही प्रमाणित गर्छु र अर्को पटकलाई समर्थन पाउने प्रयास गर्छु,’’ उनले भने। मानिसहरूले परिवर्तन चाहेका छन्... हामीले उनीहरूलाई निराश बनाउन हुन्न।

जोनसनले भनेः “हामीले ज्यानुअरी ३१ सम्ममा ब्रेक्जिट सक्नेछौँ। एक निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहँदा कन्जर्भे्टिभले ३६४ स्थानमा र लेबरले २०३ स्थानमा जितेका छन्। यसको अर्थ सन् १९८७ को आमनिर्वाचन यता संसद्मा कन्जर्भे्टिभको सबैभन्दा ठूलो उपस्थिति हुनेछ।
लेबरले भने सन् १९३५ यताकै सबैभन्दा खराव नतिजा प्राप्त गर्ने देखिएको छ। लिबरल डेमोक्र्याटका नेता जो स्वीनसनले निर्वाचनमा पराजित भएपछि नेतृत्व छोड्ने बताएकी छन्। स्कटिश न्याश्नल पार्टीका नेतृ तथा स्कटल्यान्डका प्रथम मन्त्री निकोला स्टर्जन आफ्नो पार्टीको लागि यो अद्वितीय रात भएको बताइन्।
उनले निर्वाचनमार्फत् स्कटल्यान्डले आफूलाई बोरिस जोनसनको सरकार नचाहिएको र प्रधानमन्त्रीलाई स्कटल्यान्डलाई ईयूबाट निकाल्ने जनादेश नभएको स्पष्ट सन्देश दिएको बताइन्। उनले यो परिणामले स्कटल्यान्डले आफ्नो भविष्यको बारेमा निर्णय गर्ने अधिकार भएको र स्वतन्त्रताको लागि अर्को जनमत सङ्ग्रह गर्नुपर्ने बताइन्। बीबीसी