काठमाडौं– शुक्रबार खानेपानीमन्त्री वीना मगरले काठमाडौं स्थित गुहेश्वरीमा निर्माणधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र अवलोकन गरेका छन्।
प्रशोधन केन्द्रको कार्य अन्तिम चरणमा भएकोले छिट्टै उद्धघाटन गर्ने मिति तय हुने बताएकी छन्। उनले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताइन्।
दुई वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो। तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताइन्।
सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो। २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ। प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ।