काठमाडौं– नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज ‘नुर–गंङ्गा प्रतिभा पुरस्कार गुठी’ ले नेपाली कला, साहित्य र लोकगायनमा योगदान पुर्याउनु हुने ५ जना व्यक्तित्वलाई सम्मान गरेको छ। गुठीका संस्थापक तथा नेपाली औद्योगिक तथा आर्थिक व्यवसायका सफल उद्यमी स्वर्गीय नूर–प्रताप ज.ब.रा र उनकी धर्मपत्नी एवं नूर–गंगा प्रतिभा पुरस्कार गुठीका संस्थापक तथा नेपाली लोकगायन क्षेत्रका विशिष्ठ साधक स्वर्गीय गंगा राणाको नामबाट गुठीको स्थापना गरिएको हो।
प्रत्येक बर्ष विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने गुठीले यस बर्ष नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा कलम चलाईरहेका विशिष्ट व्यक्तित्व साहित्यकार भैरव रिसाललाई राष्ट्रिय साहित्य पुरस्कार रु १ लाख रुपैया सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो। त्यसैगरी नेपली साहित्यमै क्षेत्रीय स्तरको साहित्य पुरस्कार मुरारी रेग्मीलाई प्रदान गरेको थियो।
अर्को विधा नेपली लोकगायनमा २०४२ सालदेखि अहिले सम्म विभिन्न गाउँ बस्तीका गीतहरु गाउँदै विदेशसम्म पनि नेपाली लोक गीतको प्रचारमा सक्रिय भूमिका निभाउने बरिष्ठ लोकगायिका बिमाकुमारी दुरालाई लोकगायन तर्फ राष्ट्रिय पुरस्कार रु १ लाख सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। त्यसैगरी क्षेत्रीय स्तरको लोकगायनको पुरस्कार नव गायिका कमला पोखरेललाई रु २० हजार सहित सम्मान गरेको थियो। बालसाहित्य तर्फ अनुज्ञा नेपाललाई राष्ट्रिय बालसाहित्य पुरस्कार प्रदान गरेको थियो। पूर्व प्रधानन्यायधिस शुसिला कार्कीको प्रमूख अथितिमा रहेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले स्वागत मन्तब्य दिएका थिए। यादव भट्टराईले उद्घोष गरेको कार्यक्रममा उनले बिच–बिचमा कविता र गजलका हरफहरुले कार्यक्रमलाई रोचक बनाएको थियो।
कार्यक्रममा गायिका बिमाकुमारी दुराले ‘लमजुङ् तुर्लङ्कोट’ गीत गाएर दर्शहरुलाई भावुक बनाएकी थिईन्, भने कमला पोखरेलले ‘निरमाया ठुली’ गीत गाएकी थिईन। भैरव रिसालले आफ्नो विगत र वर्तमान अवस्थामा आफुले नेपाली साहित्यमा पुर्याएको योगदानलाई समिक्षा गरेका थिए। अनुज्ञा नेपालले सानो कविताको हरफ सुनाएर सबैलाई चकित बनाएकी थिईन्। उनले यति सानो उमेरमा नेपाली बालसाहित्यलाई दिएको योगदानको सबैले तारिफ गरेका थिए। कार्यक्रममा नेपाली लोकगायनमा सक्रिय व्यक्तित्व नारायण रायमाझी, नन्दकृष्ण जोशी जस्ता अग्रजहरुको उपस्थिति रहेको थियो।