काठमडौं _ तत्कालीन काठमाडौँ नगरपालिकाका प्रथम जननिर्वा्चित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ। श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी पर्नुभएको थियो। उहाँको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो।
सभापति श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले मृतात्माको चीरशान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँकी बुहारी रिना श्रेष्ठका अनुसार दिउँसो उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ।
विसं २००८ मा काठमाडौँ नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो। यही ऐनका आधारमा २०१० साल भदौ १० गते नगरपालिकाको सम्पन्न चुनावमा श्रेष्ठले करिब दुई हजार ५०० मत ल्याएर निर्वा्चित हुनुभएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा श्रेष्ठ प्रमुखमा निर्वा्चित भएका थिए।
त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो। पहिले सबै वडाबाट सदस्य निर्वा्चित हुन्थे। तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानुनी व्यवस्था रहेको थियो। नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वा्चित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो।