काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शनिबारबाट शुरु हुँदैछ। घरेलु फुटबलको उद्घाटन खेलमा दुई बलियो टोली मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) एकआपसमा भिड्दैछन्।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा खेल दिउँसो ३ बजे शुरु हुनेछ। लिग च्याम्पियन बन्ने लक्ष्यमा रहेको मछिन्द्रमा राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ। पहिलो खेलमा बीबीसीलाई पराजित गर्दै मछिन्द्र लिग च्याम्पियन बन्ने बाटोमा अघि बढ्ने सुरमा हुनेछ।
अघिल्लो वर्ष मनाङले लिग जित्दा टोलीमा रहेका सबै खेलाडीलाई मछिन्द्र क्लबले अनुबन्ध गर्दै बलियो टोली बनाएको छ। त्यस्तै ब्रिगेड ब्वाइजले पनि एन्फा एकेडेमीका खेलाडीलाई टोलीमा समेटेर मच्छिन्द्रलाई कडा टक्कर दिने तयारी गरेको छ।
राष्ट्रिय टोलीका पुर्वकप्तान तथा बीबीसीबाटै लिगमा डेब्यु गरेका अनिल गुरुङसहित विजय गुरुङ र उत्तम गुरुङलाई टिममा राखेको ब्रिगेडले राम्रो प्रदर्शन गर्ने प्रशिक्षकले बताएका छन्। शनिबारको खेललाई राष्ट्रिय टोलीका कप्तान रहिसकेका अनिल गुरुङ र विराज महर्जनबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ।