काठमाडौं– आन्तरिक विवाद समाधानका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुराकानी भएको छ। पौडेल निवास बोहोराटार भएको छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि भएका थिए।
करिब १ घण्टाजति भएको कुराकानीमा नेताहरुबीच पछिल्लो समय पार्टीमा बढेको विवाद मिलाउने विषयमा वार्ता भएको बताइएको छ। बिहीबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेल पक्षीय नेताहरु उपस्थित नभएका कारण देउवाले छलफललाई अघि बढाएका हुन्।
पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको अडानपछि पौडेल पक्ष बैठक बहिस्कार गरेको थियो। यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति रहेको छ।
पौडेल पक्षको बहिस्कारका बीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो। सोही विषयमा सहमति खोज्न तथा पौडेललाई फकाउन देउवाले अग्रसरता लिएको बताइएको छ।