चितवन– भरतपुर महानगरपालिकाको नारायणगढदेखि मङ्गलपुरसम्मको क्षेत्रमा विद्युतकाे गुणस्तर विकास गर्न नयाँ फिडर थप गरिएको छ। नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रले कल्याणपुरमा फिडर थप गरेको हो।
वितरण केन्द्रका प्रमुख सुरेश महतोका अनुसार सो क्षेत्रमा भार नधान्ने र भोल्टेज नपुग्ने समस्या भए पछि बसेनीमा रहेको सवस्टेशनबाट एक हजार भोल्टको तार तानेर कल्याणपुरमा फिडर स्थापना गरिएको हो। सो फिडरबाट दुई हजारभन्दा बढी ग्राहक लाभान्वित भएको उनले जानकारी दिए।
भरतपुर वितरण केन्द्रको यो नवौँ फिडर हो। सो फिडरबाट नारायणगढ, मङ्गलपुर, कल्याणपुर, तोरीखेतलगायतका क्षेत्रका ग्राहक लाभान्वित भएका छन्। करिब रु ६० लाखको लागतमा फिडर सञ्चालनमा ल्याइएको हो। भरतपुर वितरण केन्द्रका ५६ हजार ग्राहक रहेका छन् । जाडो मौसममा दैनिक ३० एमभी ए विद्युत् खपत हुने उनले बताए। रासस