चितवन– भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम बढेको छ। विभिन्न अवसर पारी व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन्। नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु १० लाख हस्तान्तरण गरेको हाे।
संस्थाको १० औँ वार्षिकोत्सवको अवसर पारी फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सो रकम हस्तान्तरण गरेका हुन्। विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै पछिल्लो समय रङ्गशाला निर्माणले गति लिएको छ। धुर्मुसकै उपस्थितिमा हरेक दिन १ सय ६१ कामदार रङ्गशाला निर्माणमा खटिएको फाउण्डेशनले जनाएको छ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले हरेक दिन व्यक्तिगत तथा संस्थागतरुपमा सहयोग आउने क्रम बढेको बताए। रङ्गशाला हेर्न आउनेको पनि भीड लाग्न थालेको छ। एकै दिन दुई हजार ५ सयसम्म रङ्गशाला टिकट काटेर छिर्ने गरेका छन्। फाउण्डेशनको अगुवाइमा रु दुई अर्ब ५० करोड हाराहारी खर्च गरेर रङ्गशाला बनाउन लागिएको हो। हालसम्म रङ्गशाला निर्माणका लागि रु चार करोडभन्दा बढी रकम सङ्कलन भएको फाउण्डेशनले जनाएको छ। रासस