काठमाडौं– मङ्सिरको झरीले वातावरण चिसो भए पनि बिहान ७ः०० बजे नै सफाइ अभियानकर्मीले उपत्यकाका नदी तथा चक्रपथ सफाइ अभियानलाई जारी राखेका छन्। शुक्रबार बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भएर तापक्रम घटे पनि सफाइकर्मीको उत्साह भने घटेन।
प्रत्येक हप्ता शनिबार झैँ आज पनि पूर्व्निर्धा्रित नदी किनार र चक्रपथका विभिन्न स्थानमा उपस्थित भएर सफाइ अभियान चलाए। विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, पानी, घाम, दशैँ, तिहारलगायत जुनसुकै बेला पनि टुटेको छैन। प्रत्येक हप्ता निरन्तर रुपमा आज ३४४औँ हप्ता भएको छ।
आज थापाथली प्रसूति गृह वरिपरिको नदी किनारमा सफाइ गरियो। सफाइमा नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजे, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत ४०० अभियानकर्मीको सक्रियता थियो। उन्नाइस संस्थाको संस्थागत सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए।
थापाथली क्षेत्रमा सुकुम्वासीका कारण सफाइमा चुनौती थपिएकाले के गर्ने भन्ने विषयमा आइतबार अभियानकर्मीको विशेष बैठक बस्ने उनले बताएका छन्। शहरी विकास मन्त्रालयले पहल गरे सुकुम्वासी समस्या समाधानमा सहयोग पुग्ने अभियानकर्मीको विश्वास छ। रुद्रमती सफाइको २९६औँ हप्तामा रातोपुलदेखि कालोपुलसम्मका दुवै किनारमा सफाइ गरियो। सफाइबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।
चक्रपथ पश्चिम खण्ड सफाइको १२३औँ हप्तामा सीतापाइलाचोकबाट छाउनीचोकसम्मको क्षेत्रमा सफाइ गरियो। यसबीचमा पर्ने वाहिटी क्षेत्रमा आज विशेष सफाइ गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए। सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको थियो। ललितपुरको गोदावरी खोला सफाइको ४१औँ हप्तामा गोदावरी नगरपालिका–१४ खुसिबु कोलोनी ठैबमा गरियो। सफाइमा स्थानीयवासीलगायत महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका सुरक्षाकर्मीको पनि सक्रियता थियो।
यसैगरी उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, चक्रपथ उत्तर खण्ड, आलोकनगर, वाग्मतीको सुन्दरीघाट र तिलगङ्गा, मनोहरालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ। विष्णुमतीमा भने वर्षाका कारण सफाइ हुन नसकेको जनाइएको छ। हेटौँडा उपमहानगरपालिका–१० का अध्यक्ष किताबसिंह लामा र वातावरण शाखाका राम भुजेलको सक्रियतामा हेटौँडामा पनि आजदेखि सफाइ अभियान शुरु गरिएको छ।
सफाइलाई अब प्रत्येक हप्ता निरन्तरता दिने प्रतिबद्धता जनप्रतिनिधिले जनाएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए। वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हालसम्म देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ। सफाइ अभियान स्वतस्फूर्त रुपमा शुरु भए पनि स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दा प्रभावकारी हुन नसकेको अभियानकर्मीको गुनासो छ। (रासस)