१. मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालको प्रमुख आतिथ्यतामा धनोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ। काठमाडाैं स्थित क्षेत्रपाटीमा स्थापना भएको सहकारीको शनिबार मन्त्री अर्यालले रिबन काटेर उद्घाटन गरेकी हुन्। उद्घाटन कार्यक्रममा मन्त्री अर्यालले सहकारीलाई उत्कृष्ट बनाउन पारदर्शिता आवश्यक रहेकाे बताइन्। उनले सहकारी संस्था स्थापनासँगै त्यसलाई उच्च प्राथमिकतामा राखि भावी योजनाहरु बनाउने पर्नेमा जाेड दिइन्। उनले वित्तिय कारोबार गर्ने संस्थामा जोखिम भएको भन्दै सम्भावित जोखिमलाई ख्याल गर्दै सहकारीले प्रतिष्ठा कमाउनुपर्ने जनाइन्।
२. अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटनः मन्त्री भट्टराई (अन्तर्वार्ता )
नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ। सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइसकेको छ। यो अभियानको नेतृत्वकर्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको भ्रमण वर्षको मुख्य तयारी र नीतिगत सुधारका काममा व्यस्त छन्।
३. धनुषा बम विस्फोट काण्डः विप्लवका तीन नेता पक्राउ
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति विस्फोट हुँदा ३ जनाले ज्याए गुमाएका थिए। ज्यान गुमाउनेमा प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो। विस्फोटमा परी अन्य ४ जना घाइते भएका छन्। प्रहरीले शनिबार बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन्। धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको छ।
४. गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग
भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम बढेको छ। विभिन्न अवसर पारी व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन्। नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु १० लाख हस्तान्तरण गरेको हाे। संस्थाको १० औँ वार्षिकोत्सवको अवसर पारी फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सो रकम हस्तान्तरण गरेका हुन्। विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै पछिल्लो समय रङ्गशाला निर्माणले गति लिएको छ। धुर्मुसकै उपस्थितिमा हरेक दिन १ सय ६१ कामदार रङ्गशाला निर्माणमा खटिएको फाउण्डेशनले जनाएको छ।
५. छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अझै पनि छोरा र छोरीलाई शिक्षा दिने कार्यमा विभेद रहेकाले त्यसको अन्त्य गर्न आवश्यक रहेको बताएको छ। जिल्ला बाल क्लब सञ्जाल काभ्रेपलाञ्चोकको आज यहाँ आयोजित पाँचौँ जिल्ला बाल भेलामा उनले बालअधिकार गर्भबाट शुरु हुने भएकाले स्वस्थ रुपमा जन्मिन पाउनुपर्ने अधिकार र जन्मदेखि सुरक्षित जीवन निर्वाहको पक्ष र त्यसका लागि शिक्षा र स्वस्थ जीवन जिउन पाउनुपर्ने अधिकारमा भेदभाव हुन नदिन आम अभिभावक सचेत हुनुपर्ने बताएका छन्। उनले अहिले पनि गाउँका कलेजहरु छोरीबुहारी पढ्ने थलो मात्रै भएको उल्लेख गरे।
६. हिमपातका कारण ताप्लेजुङको जनजीवन प्रभावित
शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ। जिल्लाभर वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन। लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ। “बाहिर एक फिटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन”, घुन्साबाट टाँसी तेन्जिङ शेर्पाले भने।
७. घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास

सूर्य्विनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ। सूर्य्विनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरेका हुन्। घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो। रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो।
८. एचपीकाे कन्भर्टिकल स्पेक्टर एक्स ३६०–१३ ल्यापटप सार्वजनिक, २२ घण्टासम्म ब्याट्री टिक्ने

कम्प्युटर र प्रिन्टर निर्माता चर्चित कम्पनी एचपीले जानकार र रुची राख्ने उपभोक्ताहरुका लागि विश्वकै सबै भन्दा सानो कन्भर्टिकल स्पेक्टर एक्स ३६०–१३ ल्यापटप सार्वजनिक गरेको छ। यस ल्यापटपमा क्वाड–कोर १० औं जेनेरेशन इन्टेल चिप दिइएको छ। यस ल्यापटपमा एक उत्कृष्ट ब्याट्री ब्याकअप दिइएको छ, जसको कारण एक पटक फुल चार्ज गरेपछि २२ घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ। यसमा ९० प्रतिशतसम्म स्क्रिन टु बडी अनुपातको सुविधा दिइएको छ।
९. भ्रमण वर्ष सफल पार्न रेस्टुरेन्ट तथा बारको भूमिकामा जोड

नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन्। रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान) र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता (हस्पिटालिटी) तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका थिए। कार्यशालामा रेवानका अध्यक्ष अरनिको राजभण्डारी र सेफ एशोसिएशनका संस्थापक अध्यक्ष पुष्प थापाले नेपाल भ्रमण नेपालको पर्यटन विकामा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नोपल आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु खान पाउने सुनिश्चित गर्न आफूहरु गम्भीर रहेको बताए।
१०. उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’ सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ। एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो। तर उनले थप विवरण दिएनन्। यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो। अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ।