काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन। चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका छन्।
‘गैँडा मर्ने क्रम रोकिएको छैन’, चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेले भने। पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा भेटियो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि लागेको थिएन।
‘मरेको गैँडा त्यस्तै तीस वर्ष उमेरको हो’, प्रवक्ता घिमिरेले भने, ‘मानव बस्तीमा गएर फापर, गहुँलगायतका खेती खाएको रहेछ। त्यसलाई पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा हामी पुग्यौँ।’
निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य भेटिँदैन। त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५र०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ।
यो सङ्ख्या २०७४र०७५ मा २६, २०७३०७४ मा २५ वटा थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन्।