जनकपुरधाम– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा शनिबार बिहान अज्ञात समूहले राखेको बम विस्फोट भएको थियो। उक्त बम विस्फोटमा परी इन्स्पेक्टरसहित ३ जनाले ज्यान गुमाएका थिए। विस्फाेटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द भएको छ।
संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषा जिल्लाभरिका निजि विद्यालय र क्याम्पसहरु बन्द गर्न लागिएको हो। समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको बताए।
विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको छ। विप्लव नेतृत्वको नेकपाका ३ कार्यकर्ता पक्राउ परे पनि घटना कसले घटायो भन्ने नखुलेको प्रहरीले जानकारी दिएकाे छ।