तनहुँ– तनहुँमा भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरिएको छ। भानु नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो।
भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीको अनुसार नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको थियो।
विद्युतीय मेसिनको मूल्य १७ हजार ५ सय पर्छ। उक्त मेसिनको प्रदान गर्न नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ। महिलालाई लक्षित गरि गरिएको कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालीम प्रदान गरिएको थियो।
तालिमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको नगर उपप्रमुख आशा थापाले बतए। उपप्रमुख थापाको अनुसार यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुभक्तीय टोपी उत्पादनका लागि सहयोग पुग्नेछ।
मेसिन प्राप्त गरेका महिलाले उत्पादन गरेको भानुभक्तीय टोपीको बजार व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख उदयराज गौलीले जनाए। उनका अनुसार यहाँ उत्पादित टोपी जिल्ला समन्वय समितिसँग सहकार्य गरेर जिल्लाका अन्य स्थानीय तहमा पनि बिक्री वितरणको व्यवस्था मिलाउन पहल गरिनेछ।
भानु नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विद्यालय, सङ्घसंस्थालगायतमा भानुभक्तीय टोपी अनिवार्य गर्न लागेको छ। त्यसको शुरुआत भानु नगरपालिकाले आफ्नै कार्यालयबाट असार १ गतेदेखि शुरु गरे पनि अहिले कर्मचारी एवं जनप्रतिनिधिले नै उक्त टोपी नलगाउने गरेको गुनासो आउन थालेको छ।