काठमाडौं - गर्मी मौसममा घाम अति तातो। जाडो महिनामा भने घामसँग असाध्यै प्यारो लाग्छ। काखैमा लिँउजस्तो। अंगालोमा बेरौजस्तो। घामको दर्शन गर्न नपाउँदा फेरि गाह्रो।
अहिलेको मौसममा चियाको चुस्कीसँगैको घाम झन प्यारो। त्यही मज्जा लिन हाम्रो भ्रमणको पहिलो तालिका बन्यो इलामको श्रीअन्तु पुग्ने। हामी त्यही बिहानी झुल्के घाम भेट्न जाँदै थियौँ, ‘काठमाडौँ टू श्रीअन्तु’।
घाम भेट्न जाने हुटहुटीले निन्द्रालाई पनि चाँडै सिध्याइदियो। अरु दिन ब्युँझेर पनि सिरक तानीतानी सुत्ने म, घाम हेर्न जाने भएपछि भने बिहान ५ नबज्दै उठिसकेको थिए।
काठमाडौँदेखि इलामसम्मको यात्रा बिहानको ७ बजे सुरु भयो। आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत बीए दोस्रो वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु मिलेर हामी भ्रमणमा निस्किएका थियौँ। हाम्रो लक्ष्य इलामको विभिन्न पक्षहरुको अध्ययन तथा अवलोकन गर्नु थियो।
सामान्य रिसर्चको लागि इलाम सँगै भेडेटार, नमस्ते झर्ना र जनकपुरसम्म पुग्ने हाम्रो योजना थियो। हाम्रो यात्रा काठमाडौँदेखि सिन्धुली हुँदै इलामतिर लम्कियो। सिन्धुलीको घुमाउरो बाटो त्यसमाथि गाडिको तिब्र गति मनमा थोरै डरको महशुस भएको थियो। गाडिमा म्युजिक सिस्टम भने त्यति राम्रो थिएन जसका कारण थोरै झुर महशुस पनि।
त्यस दिन हामी काठमाडौँबाट सिधैँ इलामको श्रीअन्तु पुग्यौँ। हामीलाई श्रीअन्तु पुग्न झण्डै १७ घण्टा लाग्यो। श्रीअन्तु पुग्दा रातीको सवा बाह्र बजिसकेको थियो। मध्यरात नै भएपनि होमस्टेमा राम्रै स्वागत पायौँ।
भोलिपल्टको दिन बिहान झिसमिसेमा श्रीअन्तुबाट उदाउँदै गरेको घामको किरणसँग साक्षात्कार गर्नु थियो। अर्थात बिहान उदाएको घामलाई सबैभन्दा पहिला भेट्नुपर्ने थियो। इलामको त्यो सून्दर वातावरण कल्पनासँगै विहाँनीको २ बजे झपक्क निदाइयो।
भोलिपल्ट बिहान ४ बजे उठेर झुल्के घाम हेर्न श्रीअन्तु डाँडाको भ्यु टावरतिर लाग्यौँ, जहाँ देश तथा विदेशका पर्यटकहरु झुल्के घाम हेर्न आउने गर्छन। बिहानको सबैभन्दा पहिलो सूर्य उदाएको हेर्न सकिने देशभरमै प्रख्यात ठाउँ हो, इलामको श्रीअन्तु।
सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको श्रीअन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको वृद्धिका लागि त्यहाँका स्थानीयले धेरै मेहनत गरेको पाइन्छ।
सूर्योदय हेर्र्ने मान्छेहरुको त्यहाँ ठूलो भिड थियो। हामी पनि त्यस भिडमा मिसिन पुग्याैँ। अहिले त श्रीअन्तुमा झुल्के घाम मात्र होइन, कलकलाउँदो चिया बगान र रैथाने जीवनशैली पनि पर्यटकीय आकर्षणका लागि काफी छ।
बिहान पाँच बजे आसपासमा घाम झुल्कियो। धर्तिमा पाईला टेक्दै गरेको सुर्यको किरण स्पर्श गर्न पाउँदा हामि दङ्ग पर्यौँ,मन फुरुङ्ग भयो। आजको बिहान त ‘सबैभन्दा पहिले हामीले नै घाम भेट्न पायौँ’ जस्तो लाग्यो।
सूर्य उदाएको देख्दै मनमा एक किसीमको आनन्द पैदा भयो। केही समय हामी त्यहीँ बस्यौँ। घाम झन खुल्दै थियो तर समयले हामीलाई झकझक्याइसकेको थियो। केही समयपछि हामी बास बसेकै ठाउँतिर लम्कियाैँ। हामिलाई इलामका अन्य आकर्षक ठाउँहरु पनि पुग्नु थियो।
खाना खाइसकेपछि इलामको चिया बगान डुल्ने कार्यक्रम थियो। मेची राजमार्गसँगै जोडिएको कन्याम झापाबाट इलाम आवागमनमा बीच बाटोमा नै पदर्छ। हामी फिक्कल पुग्यौँ। एक दिन फिक्कलमा बितायौँ।
त्यहाँका ती स–साना पसलमा सजाइएका छुर्पी, ललिपपले हाम्रो मुख नै मिठ्याएको थियो। फिक्कल बाट कन्याम चिया बगान ८ किलोमिटर टाढा पर्छ। तेस्रो दिन बिहान हामी कन्याम चिया बगान पुग्यौँ। चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले पनि चर्चित छ।
असोजदेखि वैशाखसम्म वनभोजमा आउनको सयौं गाडी यहाँ देखिने गरेको स्थानीय बताउँछन्। कन्याममा आगन्तुकले घोडासवारीबाट मस्त रमाइलो र आनन्द लिन सक्नेछन्।
इलामको खास चिनारी चिया बगान नै हो। यसलाई थप चर्चित बनाएको छ, अर्थोडक्स चिया, अदुवा, अलैँची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन (दूध)ले जसलाई सात ‘अ’ को नगरका रुपमा पनि चिनिन्छ। यो नगर प्रदेश सरकारले घोषणा गरेको प्रदेश नम्बर एकको एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको १ सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो।
पाखाभरी चिया, खोल्साभरी अलैंची, कान्ला–कान्लामा अंम्लिसोका लर्किएका बोटहरु। चारैतिर हरियाली र मनै लौभ्याउने वातावरण। चिसो सिरेटो, क्षण– क्षणमा बाक्लो कुहिरो। इलामको मौसम, त्यो पनि डाँडाकाँडासँग लुकामारी खेले झैँ कहिले घाम त कहिले कुहिरो। इलामले हामीलाई श्रीअन्तुपछि यतै ‘मोहनी’ लगायो।
घुमफिरमा एकदमै रुची भएका मान्छेहरुलाई भने इलामले सधैँको लागि स्वागत गरेको हुन्छ। हुन त इलाम एक दिनमा घुमेर घुमिने ठाउँ नै होइन। इलाममा एक फन्को लगाएर हामीलाई मात्रै हैन, कसैलाइ पनि धीत मर्दैन।
मानिसहरु कहिले कन्यामको चिया बगानमा हराउँछन् त कहिले श्रीअन्तुमा झुल्के घाम हेर्न पुग्छन् जहाँ पुगेर हरेक मान्छेहरु लठ्ठै पर्छन्। हामी पनि त्यहाँ पुगेर लठ्ठै परेका थियौँ। हरियाली र रमाइलो वातावरण छोड्नै मन नलाग्ने।
विभिन्न पर्यटकीय गन्तब्य स्थलहरुमध्येको एक उत्कृष्ट गन्तव्यस्थलको रुपमा इलामलाइ पनि लिन सकिन्छ। त्यसैगरी भ्रमण वर्षलाई सफल पार्नकै लागि भनेर पनि इलाममा थुप्रै किसिमका महोत्सवहरु हुँदै आइरहेको छ। पर्यटन वर्षलाई सफल पार्नको लागि इलामले ठूलो सहयोग पुर्याउन सक्नेछ।
लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा,थामी, पहरी, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गर्दछन। इलाम जैविक विविधतामा पनि धेरै धनी छ। विभिन्न नगदे बालीका लागि चर्चित इलाम जिल्ला नेपालमा चियाको थलोको रुपमा चिनिन्छ।
इलाममा घुम्न आउँदा न्यानो लुगाको जोहो चाहिँ गर्नैपर्छ। यहाँको हावापानी अलिक चिसो छ। शहरी क्षेत्रमा होटल र लज पनि भेटिन्छन्। तेस्रो दिन कन्याम घुमेसँगै हामिले इलामको तीन दिने भ्रमण सकी इलामलाई विदाई गर्यौँ। त्यसपछि हामी झापा हुँदै इटहरी पुग्यौँ। त्यहाँ पुगेर गोर्खा किचेनमा खाना खायौँ।
त्यसपछिको हाम्रोे यात्रा शुरु भयो धरान, भेडेटार हुँदै नमस्ते झर्नासम्मको। गाडिमा रमाइलो गर्दै हामी भेडेटार बजारमा पुग्यौँ। पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारभन्दा आठ किलोमिटर टाढा सिम्सुवामा रहेकोे नमस्ते झरना हेर्न तर्फ हामि अघि बढ्यौँ।
दिउँसोको करिब साँढे चार बजेतिर हामी नमस्ते झर्ना बस स्टेसनमा उत्रियौँ। बस स्टेसन बाट झरनासम्म पुग्नको लागि केही उकालो र ओरालो बाटोहरु हिड्नुपर्ने थियो। बिचमा भने एउटा टिकट काउन्टर थियो। झर्नासम्म पुग्नको लगि टिकट काटेर मात्रै भित्र छिर्न पाईने रहेछ। एउटा टिकटको ४० रुपैँया पर्ने रहेछ भने भिडियो क्यामरासहित जानलाई थप १५ रुपैँया तिर्नुपर्ने रहेछ।
झर्नासम्म पुग्नको लागि सबैजना उत्साहित थियौँ भने हिडाइका कारण गर्मी र थकाईको महशुस पनि उत्तिकै भएको थियो। जब हामी ति उकालो–ओरालो बाटो पार गरेर त्यस झर्ना सामु पुग्यौँ, त्यहाँको सुन्दर वातावरण, चिसो मौसम र तेज हावाले थकाननै बिर्साइदियो।
झरना वरिपरिको त्यो वातावरणको एकदमै रमाईलो थियो। विभिन्न पर्यटकीय गन्तब्य स्थल मध्ये नमस्ते झर्नालाई पनि एक महत्वपूर्ण गन्तब्य स्थलको रुपमा लिन सकिन्छ।
मानिसहरू तराईको गर्मीबाट बच्न, चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न त्यहाँ आउने गर्दछन्। उच्च पहाडमा रहेको चिसो हावा वहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ।
यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गरेको स्थानीय बताउँछन्। अहिले नमस्ते झर्ना आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तब्य बन्दै गएको छ।
केही समय हामीले त्यहाँको रमाइलो दृश्य कैद गर्यैँ।त्यसपछि पौने ६ बजेतिर हामी त्यहाँबाट फेरी इटहरीतर्फ लम्कियौँ। फर्किँदा बाटोमा भेडेटार बजारको एक होटलमा बसेर केही बेर चिया गफ गर्याैँ। त्यो दिनको हाम्रो बसाई इटहरीमा भयो। इटहरी पुगेर त्यस रात हामी इटहरीको पुर्वाञ्चल गेस्ट हाउसमा बास बस्यौँ।
बेलुका खाना खायौँ र एकैछिन बाहिरको घुमफिरमा निस्कियौँ। बेलुकाको समय भएर होला वरीपरिका सबै बजारहरु सुनसान थिए। होटल भन्दा धेरै टाडा त हामी पुगेनाैँ। एकै छिन वरिपरि घुम्यौँ र पुनः होटलतर्फ नै फर्कियौँ। होटलमा एकैछिन रमाइलो गर्यौ र सुत्यौँ।
भ्रमणको अन्तिम दिन जनकपुरसम्म पुगेर काठमाडौँ फर्किने हाम्रो तयारी थियो। हामी इटहरीबाट इनरुवा हुँदै कोशी ब्यारेज पुग्याैँ। कोशी ब्यारेज नेपाल–भारत सीमा क्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा छ। यो बाँध नेपाल–भारत सीमा नजिकै रहेको छ।
बाँधमा ५६ ढोकाहरू रहेका छन्। खासगरी बाँधका ढोकाहरु खोल्ने र बन्द गर्ने अधिकार भारतीय अधिकारीहरुसँग भएकाले नेपालले आफूले चाहेका बेलामा खोल्न वा बन्द गर्न नसक्ने कुरा हामीले समाचारमा पनि सुन्दै आएका छौँ।
हामीले ती ढोकाहरुको पनि अवलोकन गर्यौँ। कुनै बेला बाढि, पहिरो आयो भने नेपाली भूमी जलमग्न हुन्छ। जब बर्खा लाग्छ तब नेपाल जहिल्यै डुबानमा पर्ने गर्दछ जुन एकदम दुःखको कुरा हो।
कोशी व्यारेज पुगेर हामीले डुङ्गा सयर पनि गर्यौँ। त्यसपछि हामि जनकपुरधाम सम्मको यात्राम अघि बढ्याैँ। दिउँसोको करिब साढे एक बजेतिर हामी जनपुरधाम मन्दीर पुग्यौँ। जनकपुरधाम, भगवती सीता (जानकी)को पनि जन्मस्थल हो।
जनकपुरधाम राम र सीताको विवाहस्थल पनि मानिन्छ। राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमै भेट्टाएको इतिहास पनि छ। हामीले त्यहाँ राम–सीताको विवाह मण्डप पनि हेर्यौँ। हामी विवाह पञ्चमीको केही दिन अघि मात्रै पुगेकाले जनकपुरमा विवाह पञ्चमीको लागि भव्य तयारी भइरहेको थियो।
एकातिर गाडिको चाप अर्कोतिर गाडिले बजाएको कानै खाने हर्नले केहिबेर दिक्क बनायो। त्यसमाथि झन वरिपरिका होटलहरुको खानेकुरमा भन्किएका झ्याउँ झ्याउँ झिँगा देख्दा खानेकुरा खानै मन लागेन। खास त्यहाँ फोहोरको उचित व्यवस्थापन भने भएको थिएन।
पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरमा फोहोरमैलो व्यस्थापन र सरसफाइमा ध्यान दिने हो भने पर्यटक प्रवद्धनमा ठूलो टेवा पुग्ने देखिन्छ। हामिले त्यहाको फोहोर अवस्था देख्दा भोकलाई केहिबेर खपेरै भएपनि खाना खानको लगि हामी धनकुटा होटल पुग्यौँ। त्यहाँ खाना खाइसकेपछि केहिबेर आराम गरी हामी काठमाडौंतर्फ फर्कियौँ।
काठमाडौँ फर्किदाको हाम्रो यात्रा बेलुकाको थियोे। सिन्धुलीको त्यो घुमाउरो बाटो त्यसमाथि रातिको समय सम्झिँदा मनै झसङ्ग भयो। चिसो मौसम भएका कारण ठाउँ ठाउँमा चियाँ खायाैँ। केही समय बसमा नै गितसँगै नाच्यौँ पनि। सिन्धुली आएपछि एउटा होटलमा गएर खाना खायौँ। त्यसपछि रात छिप्पिँदै गयो निद्रा पनि लाग्दै आयो। सबैजना सुत्यौँ।
विहानको ५ बजे झल्यास्स ब्युँझिदा गाडि निरन्तर गुडिरहेको रहेछ। हामी काठमाडौंनजिक आइपुगेका थियौं। त्यसको करिब एक घण्टापछि हामी मंसिर ९ गते बिहान क्याम्पस अगाडि आईपुग्यौँ। जे होस् हाम्रो चार दिनको यात्रा एकदमै रमाइलो र अविश्मरणीय रहन पुग्यो।
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दा सफलता पाउन भने निक्कै मेहनत गर्नुपर्ने हामीले अनुभव गर्यौँ। केही ठाउँका उच्च प्राकृतिक रमणियस्थलको अलावा सरसफाई र फोहोर व्यवस्थापन, होटल तथा लजहरुको उपलब्धता सबैभन्दा महत्वपूर्ण हुने देखिन्छ।