काठमाडौँ, १८ माघ– चलचित्र ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ आजैबाट प्रदर्शनमा आएका छन्। हरेक शुक्रबार दुईभन्दा बढी चलचित्र रिलिज हुने गर्छन्। आज (शुक्रवार) भने तीनवटा चलचित्र रिलिज भएकाे हाे। यो हप्ता तीन फरक किसिमका चलचित्र एकैसाथ प्रदर्शन आएका हुन्।
दीपेन्द्र लामा निर्देशित ‘गोपी’ले स्वदेशमै अथाह सम्भावना देखाएको छ भने गोविन्दसिंह भण्डारीको ‘रणवीर’ बदलाको कथामा बनेको छ। त्यस्तै रामशरण पाठकको निर्देशन रहेको ‘सयकडा दश’मा भने भ्रष्टाचार विरुद्धको प्रेम देखाइएकाे छ। गीतसङ्गीत र ट्रेलरका कारण तीनैवटा चलचित्रमा दर्शकको अपेक्षा धेरै छ।
दुईपटककाे विशेष शोमा विशिष्ट व्यक्तित्वहरूबाट राम्रै प्रतिक्रिया बटुलेको ‘गोपी’ मा अभिनेता विपीन कार्की टाइटल क्यारेक्टरमा छन्। प्रत्येक चलचित्रमा फरक चरित्र निर्वाह गर्ने उनी यसमा एक गाईपालक युवकको भूमिकामा छन्। यसमा उनीसँगै वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्का लगायतका कलाकारको अभिनय रहेको छ।
आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताका रूपमा छन्। सामीप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त चलचित्रलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन्। कोरियोग्राफरका रूपमा गोविन्द राई छन। चलचित्रले नेपालका किसानको वास्तविक समस्या देखाएको छ।
त्यसैगरी गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा चलचित्र ‘रणवीर’मा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेकाे छ।
हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहेको यस चलचित्रले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई देखाइएकाे छ। चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ। करिब २ करोड रूपैयाँको लगानीमा चलचित्र निर्माण भएको बताइएको छ। यस चलचित्रकाे अभिनयका लागि अभिनेता सुशीलले ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी पुर्याएका थिए।
यस्तै, ‘सयकडा दश’ बाट हास्यकलाकार मनोज गजुरेलले अभिनय यात्रा शुरु गरेका छन्। भ्रष्टाचारले समाज र परिवारमा पार्ने प्रभावको कथा रहेकाे यस चलचित्रमा मनोजका अलावा सोनिया राई, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, राजाराम पौडेल, अमित पोखरेल, रवि डङ्गोल, रश्मी भट्ट लगायतका कलाकारकाे अभिनय रहेकाे छ।
रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, सञ्जीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा यस चलचित्र निर्माण गरेका हुन्। यसलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन्। बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको यस चलचित्रमा रज्जु प्रधानको कथा छ। हास्यकलाकार राजाराम पौडेल यसका कार्यकारी निर्मातामा हुन्।
यी तीनवटा नेपाली चलचित्रसँगै सोनम कपुर, अनिल कपुर, राजकुमार राव अभिनित बलिउड चलचित्र ‘एक लड्कीको देखा तो ऐसा लगा’ पनि नेपाली हलमा शुक्रबारबाटै प्रदर्शनमा आएको छ। नेपाली चलचित्र ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ले सिङ्गल स्क्रिनसँगै मल्टिप्लेक्स हलमा पनि राम्रै प्रतिक्रिया पाएको छ।