एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा स्पेनिस महारथी रियल मड्रिड र भ्यालेन्सियाले बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा दुबै टोलीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
हारको मुखमै पुगेको रियललाई इन्ज्युरी समयमा फरवार्ड करिम बेन्जेमाले गरेको गोलले जोगाएको थियो। भ्यालेन्सियाको लागि कार्लाेस सोलेरले गोल गरेका थिए। पाहुना टोली रियलले शुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेपनि गोल गर्न सकेको थिएन। पहिलो हाफमा दुबै टोलीले गतिलो आक्रामण गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा प्रतिस्पर्धात्मक बनेको खेलमा भ्यालेन्सियाले ७८ औं मिनेटमा गोलको खडेरी तोड्न सफल भयो। भ्यालेन्सियाका कार्लाेस सोलेरले गोल गरेपछि घरेलु टोलीले खेलमा अग्रता बनाउन सफल भयो। जिततर्फ अघि बढिसकेको भ्यालेन्सिया अन्तिम समयमा सम्हालिन नसक्दा रिययले त्यसको फाइदा उठायो।
हारतर्फ उन्मुख रियलका लागि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सम्भावित हारबाट जोगाएका थिए। बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लन असफल भयो। रियल १६ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। शीर्षस्थानको बार्सिलोनाको पनि समान ३५ अंक रहेपनि गोल अन्तरमा अघि छ।